फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका कार्यक्रम सार्वजनिक
वि.सं.२०८२ मंसिर १ सोमवार ०९:०२
shares
फाइल तस्वीर
काठमाडौँ मंसिर १ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत कार्यक्रम सार्वजनिक गरेको छ। प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका मनोनयनदेखि अन्तिम नामावली प्रकाशनसम्मका सबै प्रक्रिया चरणबद्ध रूपमा तोकिएका छन्।
आयोगका अनुसार प्रत्यक्षतर्फ माघ ६ गते देशभरका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ। सोही दिन बेलुका ५ देखि ७ बजेसम्म प्रारम्भिक सूची सार्वजनिक गरिनेछ। माघ ७ मा उम्मेदवारविरुद्ध दाबी–विरोध दर्ता गर्न सकिनेछ भने माघ ८ मा उजुरी छानबिनपछि बेलुका ५देखि ७ बजे बीच परिमार्जित नामावली प्रकाशित हुनेछ। माघ ९ गते बिहान १० देखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ। फिर्तापछि सोही दिन ३ बजेभित्र अन्तिम नामावली सार्वजनिक गर्नासाथ चुनाव चिन्ह पनि प्रदान गरिने आयोगले जनाएको छ।
समानुपातिकतर्फ निर्वाचन प्रक्रिया मंसिर २० गते बाट सुरु हुनेछ। समानुपातिक प्रणालीमा भाग लिन दलहरुले मंसिर २१ देखि २३ गते भित्र आयोगमा निवेदन बुझाउनु पर्नेछ। निवेदन दर्ता भएका दलहरूको नामावली मंसिर २४ मा सार्वजनिक गरिने छ। त्यसपछि दलहरुले पुस १३ र १४ गते बिहान १० देखि ४ बजेसम्म समानुपातिक उम्मेदवारको बन्द सूची आयोगमा बुझाउनुपर्नेछ। आयोगले प्रत्यक्ष र समानुपातिक दुवै तर्फको समयरेखा सार्वजनिक गरेसँगै आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी औपचारिक चरणमा प्रवेश गरेको छ।



















