भीम रावल नेतृत्वको अभियान आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै
वि.सं.२०८२ कात्तिक २६ बुधवार १०:०४
shares
फाइल तस्वीर
काठमाडौँ — नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपाल आज नवगठित नेपाली कम्युनिस्ट पार्टीमा औपचारिक रूपमा समाहित हुने भएको छ।गत आइतबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरूसँग रावल समूहको संवाद र सहमति पछि उक्त समायोजनको निर्णय भएको थियो।
समायोजनका लागि आज दिउँसो काठमाडौँमा बृहत् पार्टी समायोजन कार्यक्रम आयोजना गरिएको नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले जानकारी दिएका छन्।उनका अनुसार सो कार्यक्रममा भीम रावलसहित अभियानमा आवद्ध केन्द्रीय, प्रदेश र जिल्लास्तरीय नेता–कार्यकर्ताहरू औपचारिक रूपमा प्रवेश गर्नेछन्।नेता ज्वालाका भनाइमा, देशको राष्ट्रियता, स्वाधीनता र जनहितका सवालमा साझा दृष्टिकोण राख्ने सबै वामपन्थीहरूलाई एउटै छातामुनि ल्याउने यो अभियानले देशमा एकता र स्थायित्वको सन्देश दिनेछ।
रावलले नेतृत्व गरेको मातृभूमि जागरण अभियान पछिल्ला महिनामा राष्ट्रियता, सुशासन र जनजीविकाका विषयमा सक्रिय रहेको थियो। अभियानले नेपालका विभिन्न जिल्लामा जनसंवाद, विचार–विमर्श र भेला आयोजना गर्दै आएको थियो।यससँगै, माओवादी केन्द्र र समाजवादी पार्टीबीचको संयुक्त प्रयासमा गठन भएको नेपाली कम्युनिस्ट पार्टीमा रावल समूहको प्रवेशले वाम शक्तिहरूबीचको एकता अभियानलाई थप बल पुगेको मानिएको छ।

















