काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सुरु भएको...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

आज घटस्थापना: परम्परागत विधिअनुसार दसैँको आरम्भ

2.3K
shares

काठमाडौँ,६ असोज । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व बडादसैँ आज घटस्थापनासँगै जमरा राखेर प्रारम्भ भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व पूर्णिमासम्म १५ दिन विभिन्न धार्मिक अनुष्ठान र पारिवारिक मेलमिलापसहित मनाइन्छ।

आज बिहान ९ः१३ बजे साइतमै घरघरमा घटस्थापना गरिएको छ । वैदिक परम्पराअनुसार पूजा कोठा वा दसैँ घरलाई गाईको गोबरले लिपपोत गरी शुद्ध पारिन्छ, त्यसपछि नजिकको नदी वा पवित्र स्थलबाट ल्याइएको माटोमा जौ (यव) रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ। जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले दशमीका दिन पूजापश्चात् टीकासहित जमरा ग्रहण गर्ने परम्परा रहेको छ।

धर्मशास्त्रविद्हरूका अनुसार जौबाहेक अन्य अन्न रोप्ने परम्परा शास्त्रीय रूपमा नभए पनि कतिपय कुल परम्पराअनुसार अरु अन्न पनि रोप्ने चलन छ । आयुर्वेदमा जमराको औषधीय महत्वसमेत रहेको उल्लेख पाइन्छ।नवरात्रभर महाकाली, महालक्ष्मी र महासरस्वतीका साथै नवदुर्गाको पूजा गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको आह्वान गरी पूजा गर्ने परम्परा छ।विद्वान हरुका अनुसार दुर्गा आराधना कुनै जात वा धर्म विशेषको मात्र नभई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा समस्त मानव जातिले गर्ने पूजा हो।

काठमाडौँको हनुमानढोका दरबारस्थित दशैँ घरमा आजैदेखि घटस्थापना र विशेष पूजा सुरु भएको छ। महानवमीका दिन त्यहाँ ५४ बोका र ५४ राँगासहित बलिपूजा गर्ने परम्परा छ।यस वर्ष विजयादशमी असोज १६ गते परेको छ। देवी विसर्जनको साइत बिहान ९ः२३ बजे र टीकाको साइत बिहान ११ः५३ बजे उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। टीकापश्चात् मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। दसैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा लिइन्छ। रोजगारी, अध्ययन वा अन्य कामले घरबाहिर रहेका मानिसहरू दशैँ मनाउन आफ्ना परिवारमा फर्कने गर्छन्। यसै अवसरमा शैक्षिक संस्था तथा कार्यालयहरूले लामो बिदा दिने चलन छ।

यसरी, आज घटस्थापनासँगै सुरु भएको बडादसैँले दुर्गा देवीको आराधनासँगै नेपाली समाजमा एकता, पारिवारिक न्यानोपन र सांस्कृतिक उत्सवलाई नयाँ ऊर्जा दिन्छ।