तुइन खोलामा निरन्तर पहिरो, नारायणगढ–मुग्लिन सडक सञ्चालन अनिश्चित
वि.सं.२०८२ असोज ५ आइतवार ०९:०३
shares

काठमाडौँ, ५ असोज । चितवनको मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै गएको ठूलाे पहिरोका कारण तीन दिनदेखि आवागमन पूर्णरूपमा अवरुद्ध हुँदा हजारौँ यात्रु र सयौँ सवारीसाधन अलपत्र परेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले विगत ३६ घण्टादेखि यात्रुहरू असाध्यै कठिनाइमा परेको जानकारी दिँदै यात्रुहरूलाई अनावश्यक जोखिमपूर्ण यात्रामा नजाने सुझाव दिएका छन्। उनका अनुसार विगत दुई–तीन दिनदेखि करिब २० हजारभन्दा बढी यात्रु गाडी पर्खेर मुग्लिन क्षेत्रमा रोकिएका छन्।
सिटौलाले भने, सडकको अवस्था अनिश्चित छ। अहिले गाडी पठाए पनि बाटोमै अलपत्र पर्ने जोखिम उच्च छ। सामान्य अवस्थामा पनि गन्तव्य पुग्न ६ देखि ७ घण्टा लाग्छ, तर अहिले स्थिति थप कष्टकर छ। उनले थप यात्रुहरूलाई तत्कालीन समस्या न्यूनीकरणका लागि स्थानीय निकाय र प्रशासनले खाना तथा आवश्यक सहयोग गरिरहेको जानकारी दिए।
यसबीच यात्रु व्यवस्थापनका लागि दुई विकल्पमाथि छलफल भइरहेको महासङ्घले जनाएको छ। पहिलो, यात्रा नगर्ने इच्छुक यात्रुलाई अग्रिम टिकटको पैसा फिर्ता गर्ने, दोस्रो, बाटो खुलेपछि मात्रै यात्रा गर्नेहरूलाई सोही अनुसार व्यवस्थापन गर्ने। तत्कालका लागि नयाँ टिकट बिक्री पूर्णरूपमा रोकिएको पनि सिटौलाले स्पष्ट पारे।
सडक विभागका महानिर्देशकदेखि सम्बन्धित मन्त्री तथा सचिवसम्मको समन्वयमा एउटा ‘ह्वाट्सएप ग्रुप’ समेत बनाएर सडकको अवस्था र यात्रुको व्यवस्थापनबारे निरन्तर जानकारी आदानप्रदान भइरहेको उनले बताए।यता सडक डिभिजन कार्यालय भरतपुरले सडक अझै अवरुद्ध नै रहेको भन्दै यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। नौबिसे–दामन–हेटौडा वा मुग्लिन–भिमाद–डेढगाउँ–गैँडाकोट (कालीगण्डकी करिडोर) हुँदै गन्तव्यमा पुग्न सकिने डिभिजनले जनाएको छ।
हालैको वर्षायाममा मुग्लिन–नारायणगढ सडक खण्डमा बारम्बार पहिरो खस्दा देशको एक महत्वपूर्ण यातायात नाका नै अवरुद्ध हुने समस्या निरन्तर दोहोरिइरहेको छ। यसले यात्रु तथा मालवाहक सवारी दुवै प्रभावित हुने गरेको छ। यसपटकको अवरोधले फेरि पनि मुग्लिन–नारायणगढ सडक खण्डको दीर्घकालीन सुधार र पहिरो जोखिम न्यूनीकरणबारे गम्भीर पहल गर्नुपर्ने आवश्यकता देखाएको सरोकारवालाहरूको टिप्पणी छ।
















