आज विश्वकर्मा पूजा, मेसिनरी र औजारहरूको पूजा गरेर मनाइँदै
सवारीसाधन, कलकारखानामा प्रयोग हुने धातुजन्य उपकरण, फलामे औजार, मेशिनरी सामग्री आदिको विशेष पूजा
वि.सं.२०८२ असोज १ बुधवार १०:१९
shares
फाइल तस्वीर
काठमाडौँ, १ असोज।
आज देशभर विश्वकर्मा पूजा उत्साहपूर्वक मनाइँदैछ। प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने यस पर्वलाई विशेष गरी कारीगर, औद्योगिक क्षेत्रका श्रमिक, मेशिन तथा सवारीसाधन प्रयोगकर्ताहरूले श्रद्धा–भक्तिपूर्वक मनाउने गर्दछन्।
परम्पराअनुसार आजका दिन हरेकले आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग हुने धातुजन्य उपकरण, फलामे औजार, मेशिनरी सामग्री आदिको विशेष पूजा गर्छन्। सवारीसाधनमा फूलमाला, अक्षता, अबिर–गुलाल र तिलक लगाएर पूजाआजा गरिन्छ। कारागिरहरूले आफ्ना औजार र उपकरणलाई शुद्ध गरेर विश्वकर्माको स्मरणमा आराधना गर्दा ती साधन लामो समयसम्म टिक्ने, बिग्रिन नपर्ने र राम्रो काम गर्न सक्ने विश्वास गरिन्छ।
यस दिन विश्वकर्मा बाबाको मूर्ति स्थापना गरी पूजाआजा गर्ने परम्परा छ। विशेषगरी सुन्दरीजलस्थित बाग्मती मुहानमा आज ठूलो संख्यामा भक्तजनहरू पुग्ने गर्छन्। पूजाआजा गरेर भोलिपल्ट ती मूर्तिहरूलाई नदी, ताल वा तलैयामा विसर्जन गर्ने चलन रहेको छ। यसलाई शुद्धीकरण र सृष्टिको चक्रलाई निरन्तरता दिने प्रतीकका रूपमा व्याख्या गरिन्छ।
विश्वकर्मा बाबालाई शिल्प, हस्तकला, हतियार विज्ञान र वस्तुगत निर्माणका प्रेरणा मानिन्छ। पुराणमा वर्णन भएअनुसार उनले देवताका महल, रथ, शस्त्र, मंदिरदेखि लिएर कलात्मक वस्तुसम्म निर्माण गरेका थिए। त्यसैले उनलाई दिव्य अभियन्ता को रूपमा सम्मान गरिन्छ।
बिराटनगर, हेटौंडा, पोखरा, नेपालगञ्ज लगायतका औद्योगिक क्षेत्रहरूमा आज बिहानैदेखि पूजा–पाठ गरेर कार्यस्थललाई पवित्र बनाइयो। कतिपय ठूला उद्योग तथा सरकारी प्राविधिक कार्यालयहरूले पनि आजलाई विशेष पूजाको दिनको रूपमा मनाएका छन्। बिहान उत्पादन कार्य स्थगित गरेर श्रमिक र प्राविधिक जनशक्तिहरूले सामूहिक रूपमा औजार–उपकरण आराधना गरे।
धार्मिक दृष्टिले विश्वकर्मा पूजाले काममा सफलता, प्रगति र दीर्घायु दिने विश्वास गरिन्छ। सामाजिक दृष्टिले भने यस पर्वले श्रम र प्राविधिक ज्ञानको सम्मान गर्ने सन्देश दिन्छ। श्रमिक, प्राविधिक र उद्यमशीलतालाई समान सम्मान गर्ने संस्कृतिलाई यसले अझ प्रोत्साहित गर्ने परम्परा रहेको धर्मगुरुहरूको भनाइ छ।
यसरी असोज १ गते पर्ने कन्या सङ्क्रान्तिलाई निर्माण, प्रविधि र श्रमको प्रतीक विश्वकर्मा पूजा का रूपमा मनाउँदै आएका सनातन धर्मावलम्बीहरूले आज देशभर आ–आफ्ना औजार र सवारीसाधनको पूजा–आराधना गरी श्रद्धा प्रकट गरेका छन्।
















