जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो
झडपका क्रममा सुरक्षा निकायले बल प्रयोग गर्दा कैयौँ प्रदर्शनकारी घाइते भएका थिए भने कैदीबन्दी र प्रहरीसमेतको मृत्यु भएको पुष्टि भएको छ
वि.सं.२०८२ भदौ २९ आइतवार १३:०५
shares

काठमाडौँ, २९ भदौ । भदौ २३ र २४ गते देशभरि फैलिएको जेन-जी आन्दोलनका क्रममा हालसम्म ७२ जनाले ज्यान गुमाएका छन्। आन्दोलन सुरुदेखि नै व्यापक भएको र सुरक्षा निकायसँग भएको झडपका कारण ठूलो संख्यामा मानवीय क्षति भएको सरकारी तथ्यांकले देखाएको छ।
नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले आइतबार सार्वजनिक गरेको विवरणअनुसार मृतकमध्ये ५९ जना आन्दोलनकारी, १० जना कैदीबन्दी र ३ जना प्रहरी रहेका छन्। त्यस्तै विभिन्न अस्पतालमा १९१ जना घाइते उपचाररत रहेको उनले जानकारी दिएका छन्।
सरकारले मृतकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। साथै मृतकका परिवारलाई क्षतिपूर्ति स्वरूप १०-१० लाख रुपैयाँ प्रदान गरिने भएको छ। मुख्य सचिव अर्यालका अनुसार यो निर्णय प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेलगत्तै पहिलो मन्त्रिपरिषद् बैठकमार्फत गरिएको हो।
यसअघि २३ र २४ भदौमा राजधानी काठमाडौंसहित देशका प्रमुख सहरहरूमा जेन-जी आन्दोलन तीव्र बनेको थियो। भ्रष्टाचारविरोध, सुशासनको माग र सामाजिक सञ्जालमाथिको सम्भावित नियन्त्रणविरुद्ध युवा पुस्ताले सडक आन्दोलन चर्काएको हो। प्रदर्शन केही ठाउँमा शान्तिपूर्ण भए पनि राजधानीको चक्रपथलगायत क्षेत्रमा भएको भिडन्त हिंसात्मक बनेको थियो।
झडपका क्रममा सुरक्षा निकायले बल प्रयोग गर्दा कैयौँ प्रदर्शनकारी घाइते भएका थिए भने कैदीबन्दी र प्रहरीसमेतको मृत्यु भएको पुष्टि भएको छ। घटनापछि मानवअधिकार आयोग, नागरिक समाजका प्रतिनिधि र विभिन्न दलहरूले सरकारसँग संयमता अपनाउन आग्रह गरेका थिए।
देशकै पहिलो महिला प्रधानमन्त्री बनेकी सुशीला कार्कीले पदभार ग्रहण गरेलगत्तै आन्दोलनमा मृत्यु भएकालाई सहिदको सम्मान दिनु र परिवारलाई राहत प्रदान गर्ने निर्णयलाई पहिलो प्राथमिकतामा राखेकी छिन्। उनका निकट सहयोगीहरूका अनुसार आगामी दिनमा आन्दोलन शान्त पार्ने र असन्तुष्ट युवाहरूसँग संवाद गर्ने पहल पनि सरकारले गर्ने तयारी गरेको छ।


















