काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सुरु भएको...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

राजधानी काठमाडौँमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

2.56K
shares

काठमाडौं, २४ भदौ ।

राजधानीमा फेरि तनावपूर्ण अवस्था सिर्जना हुने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। आज बिहान साढे ८ बजेदेखि लागू भएको कर्फ्यू काठमाडौं उपत्यकाको प्रमुख चक्रपथ क्षेत्रमा केन्द्रित गरिएको छ।

कर्फ्यू काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, त्यहाँबाट सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक हुँदै गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु र वागमती पुलसम्म फैलिएको छ। यसै क्षेत्रमा पर्ने सम्पूर्ण भू-भागमा जनसाधारणको आवागमन निषेध गरिएको प्रशासनले जनाएको छ। त्यस्तै, ललितपुरका विभिन्न स्थानहरूमा पनि कर्फ्यू आदेश लागू गरिएको छ। संवेदनशील मानिएका ठाउँमा सुरक्षा निकायको बाक्लो उपस्थिति रहेको छ।

सोमबार राजधानीमा भएको ‘जेनजी आन्दोलन’ हिंसात्मक बनेपछि मंगलबार पनि त्यस्तै गतिविधि दोहोरिन सक्ने आशङ्कामा प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। सोमबारको प्रदर्शनमा कम्तीमा १९ जनाले ज्यान गुमाएका थिए भने सयौँ घाइते भएका थिए। उक्त घटनापछि सरकारले सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राख्दै कर्फ्यू जस्तै कडा कदम चाल्न बाध्य भएको हो।

कर्फ्यू आदेश जारीसँगै काठमाडौं उपत्यकाको जनजीवन प्रभावित भएको छ। सार्वजनिक सवारीसाधन, पसल तथा बजार क्षेत्र बन्द छन् भने विद्यालय तथा कार्यालयमा समेत उपस्थिति न्यून देखिएको छ। आपत्कालीन सेवाबाहेक अन्य कुनै गतिविधिलाई अनुमति दिइएको छैन।

प्रशासनले अनावश्यक रूपमा घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ। आन्दोलनलाई शान्तिपूर्ण माध्यमबाट प्रस्तुत गर्न सकिने भए पनि हिंसा र तोडफोडको पुनरावृत्ति नगर्न चेतावनी दिइएको छ।