काठमाडौं । त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

आज राती खग्रास चन्द्रग्रहण, नेपालबाट तीन घण्टा भन्दा बढी अवलोकन गर्न सकिने

2.5K
shares

काठमाडौं, २२ भदौ ।आज आइतवार भाद्र शुक्ल पूर्णिमाका अवसरमा आकाशमा खग्रास चन्द्रग्रहण देखिन लागेको छ। यसलाई यस वर्ष २०८२ सालको पहिलो चन्द्रग्रहणका रूपमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले उल्लेख गरेको छ। समितिका अनुसार ग्रहण राति १०:११ बजे सुरु भएर ११:५६ मा मध्य चरणमा पुग्नेछ भने १:४१ बजे सकिनेछ। काठमाडौँबाट करिब साढे तीन घण्टासम्म चन्द्रग्रहण अवलोकन गर्न सकिनेछ।

खग्रास चन्द्रग्रहणका बेला चन्द्रमा रातो देखिन्छ, जसलाई सामान्यतया “ब्लड मुन” भनिन्छ। पृथ्वीको वायुमण्डलले निलो प्रकाशलाई तितरबितर पार्दा रातो प्रकाश मात्रै चन्द्रमा पुग्ने भएकाले यस्तो दृश्य देखिन्छ। यसपटकको ग्रहण नेपालसहित भारत, एशियाका विभिन्न मुलुक, पश्चिमी अष्ट्रेलिया र युरोपका करिब ८५ प्रतिशत जनसंख्याले प्रत्यक्ष अवलोकन गर्नेछन्। समितिले आगामी फागुन शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्रग्रहण लाग्ने जानकारी पनि दिएको छ।

सनातन परम्पराअनुसार ग्रहण सुरु हुनु ९ घण्टा अघिदेखि सुतक लाग्छ। यस अवधिमा बालबालिका, वृद्ध, र बिरामी बाहेक अन्यलाई भोजन तथा शयन निषेध मानिन्छ। ग्रहण समाप्त भएपछि स्नान, दान र भजन-कीर्तन गर्ने चलन प्राचीनकालदेखि प्रचलित छ।

ज्योतिषीय दृष्टिले मेष, वृष, कन्या र धनु राशिका व्यक्तिहरूलाई यो ग्रहण शुभ हुने मानिएको छ भने मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशिका लागि प्रतिकूल असर पर्ने विश्वास छ।

खगोलविद्हरूका अनुसार चन्द्रग्रहण पृथ्वी, सूर्य र चन्द्रमा एकै रेखामा आउँदा पृथ्वीले सूर्यको प्रकाशलाई अवरुद्ध गर्दा हुन्छ। पृथ्वीको आंशिक छायामा पर्नुलाई खण्डग्रास भने पूर्ण छायामा पर्नुलाई खग्रास चन्द्रग्रहण भनिन्छ। यद्यपि वैज्ञानिक दृष्टिले यो प्रकृतिको सामान्य खगोलीय घटना भए पनि समाजमा यसलाई सांस्कृतिक, धार्मिक र मानसिक प्रभावसँग जोडेर व्याख्या गर्ने परम्परा रहँदै आएको छ।