काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन निर्णायक चरणमा प्रवेश गरेको छ । नेतृत्व चयनसँग...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

आज श्री हरिपरिवर्तिनी एकादशी: भगवान विष्णुको विशेष व्रत एवं पूजा अनुष्ठान

शेषनागको पिठ्यूँमा भगवान विष्णुले यसै दिन कोल्टे फेरेको विश्वासले तीनै लोकका स्वामी विष्णुको आज पूजा आराधना गरिन्छ

2.86K
shares

काठमाडौँ, १८ भदौ । आज हरिपरिवर्तिनी एकादशीको पवित्र पर्व परेको छ। यस एकादशीको व्रतले अतुलनीय पुण्य फल दिने मान्यता धार्मिक श्रद्धालुमध्ये रहेको छ।हरिपरिवर्तिनी एकादशीलाई जयन्ती एकादशी र वामन एकादशीको नामले पनि चिनिन्छ। पौराणिक मान्यताअनुसार, पापहरूको नाश गर्न यस एकादशीको व्रतभन्दा ठूलो अन्य कुनै उपाय नरहेको विश्वास गरिन्छ। यस दिन निष्ठापूर्वक व्रत बस्दा वाजपेय यज्ञको फल प्राप्त हुने मानिन्छ।

आषाढ शुक्लपक्षमा हरिशयनी एकादशीमा सुतेका भगवान विष्णुले भदौ शुक्ल एकादशीका दिन निन्द्राबाट कोल्टे फेर्नुभएको मान्यताले यसलाई ‘हरिपरिवर्तिनी’ भनिएको हो। शेषनागको पिठ्यूँमा भगवान विष्णुले यसै दिन कोल्टे फेरेको विश्वासले तीनै लोकका स्वामी विष्णुको आज पूजा आराधना गरिन्छ। पूजापश्चात तामा, चाँदी, चामल र दही दान गर्ने चलन छ।

मान्यताअनुसार, त्रेतायुगमा दैत्यराज बलि विष्णुको परम भक्त थिए, तर उनले देवराज इन्द्रप्रतिको पूर्वाग्रहले इन्द्रलोक तथा अन्य देवताहरूलाई पराजित गरेका थिए। इन्द्रादि देवताहरू बृहस्पतिसहित भगवान विष्णुको स्तुति गर्न पुगेपछि देवताहरूलाई बलिबाट मुक्त गराउन विष्णुले वामन अवतार लिए।

वामन रूपमा विष्णुले बलिसित तीन पाइला जमिन मागे। बलिले सानो याचना ठानी तीन पाइला भूमि दान दिने संकल्प गरे। तर विष्णुले त्रिविक्रम रूप फैलाएर दुई पाइलामा तीनै लोक नापे। तेस्रो पाइला कहाँ राख्ने हो भनेर सोध्दा बलिले आफ्नो शिर झुकाए। विष्णुले तेस्रो पाइला बलिको टाउकोमा राख्दा उनी पाताललोक पुगे। बलिले भक्तिभावले विष्णुसंगै रहने याचना गरेपछि भगवान विष्णुले उनको आश्रममा रहने वचन दिनुभयो। भाद्रपद शुक्ल एकादशीका दिन विष्णु बलिको आश्रममा पुगेको मान्यताले यस एकादशीको महत्त्व रहिआएको छ।