काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

गुल्मीको इस्मा देउराली पार्क पर्यटन गन्तव्यतर्फ

4.17K
shares

गुल्मी, भदौ १३ – गुल्मीको इस्मा गाउँपालिका–४ मा अवस्थित देउराली क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यसहित संरचना निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ। धार्मिक र प्राकृतिक दृष्टिले महत्वपुर्ण मानिने देउरालीमा पछिल्ला वर्षहरूमा निरन्तर पर्यटन पूर्वाधार थपिँदै आएका छन्। हालै मात्र पारिलेक कन्स्ट्रक्सन, पाल्पाले इस्मा देउराली पर्यटन पार्क निर्माणका लागि ५४ लाख २१ हजार ५२१ रुपियाँमा सम्झौता गरेको थियो। इन्जिनीयर हरिप्रसाद पाण्डेका अनुसार २०८१ माघ २७ गते सम्झौता भएको योजना २०८२ जेठ ३० गते सम्पन्न भएको हो।

सो अवधिमा पार्कमा प्रवेशद्वार (गेट), गोलघर, पार्क वरिपरि वाल, राष्ट्रिय झण्डा, बुद्धको मूर्ति, मन्दिर, टिकट काउन्टरसहितको गार्ड रुम र विद्युत्सम्बन्धी काम सम्पन्न गरिएको उनले जानकारी दिए। यसअघि २०७९ सालमा पनि डिभिजन वन कार्यालय, गुल्मीमार्फत १२ लाख ४८ हजार ३६२ रुपियाँ खर्चेर उद्यान पार्क निर्माण गरिएको थियो। तर पुराना संरचना अहिले जीर्ण भइसकेका छन्। त्यसैले नयाँ संरचना थप्दै व्यवस्थापन र संरक्षणका लागि हेरालु समेत तोकिएको देउराली मन्दिर संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष गणु प्रसाद अधिकारीले बताए।

गुरुङ गाउँ, कल्यार र नजिकैको मुख्य सडकमार्गसँग देउराली क्षेत्र जोडिन सक्ने भएकाले यसलाई धार्मिक–प्राकृतिक पर्यटन केन्द्र बनाउन सकिने विश्वास स्थानीय तहले लिएको छ। वडाध्यक्ष राजु बस्नेतका अनुसार संघ र प्रदेश सरकारमार्फत बजेट व्यवस्थापन गरी विभिन्न काम भइरहेका छन्। गत वर्ष मात्र करिब ६७ लाख रुपियाँ विनियोजन गरिएको र अझै धेरै काम डिपिआरअनुसार गर्न बाँकी रहेको उनले बताए। तर, पार्कको पूर्वाधारमा अझै केही चुनौती छन्। उच्च भूभागमा रहेकाले खानेपानीको समस्या छ भने सडक स्तरोन्नती पनि भएको छैन। नजिकै ठूलो खानेपानी ट्याङ्की भए पनि पर्यटकले सहज रुपमा पानी पाउन नसक्ने गुनासो स्थानीयले गरेका छन्। इस्मा–५ की बसन्ती न्यौपाने अर्याल भन्छिन्,बच्चासहित पार्क पुग्दा पनि टिकट शुल्क असुल्ने गरिएको छ, तर पछिल्लो समय संरचना थपिँदै जानु भने सकारात्मक पक्ष हो।

धार्मिक महत्व, प्राकृतिक सौन्दर्य र नयाँ संरचनासहित देउराली पार्क विस्तारै गुल्मीको प्रमुख आन्तरिक पर्यटन गन्तव्य बन्दै गएको छ।