अध्यक्ष चुनावमा भण्डारी हार्ने पक्का, त्यसपछि असन्तुष्ट हुने : ओलीको दाबी
वि.सं.२०८२ भदौ १२ बिहीवार १२:४३
shares

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीले पार्टी अध्यक्षमा उम्मेदवारी दिए पराजित हुने दाबी गरेका छन्।
आगामी दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौँ जिल्लाबाट चयन भएका महाधिवेशन प्रतिनिधिसँगको अनौपचारिक छलफलमा ओलीले यस्तो धारणा राखेका हुन्। उनले भण्डारी पार्टीमा औपचारिक रूपमा सदस्यता नलिई बाहिरका नेतासँग सक्रिय राजनीति गर्ने तयारी गर्नु गलत भएको पनि टिप्पणी गरे।
ओलीले भने, उहाँ पार्टीमा आएर अध्यक्ष उठ्नुभयो भने जित्नुहुन्न। नेतृत्व क्षमता परिस्थिति अनुसार परीक्षण हुन्छ, लालगेडी झैँ देखाउने कुरा होइन। उनले भण्डारी हार्ने निश्चित देखिएकाले त्यसपछि पार्टीभित्र असन्तोष र कारबाहीको स्थितिसम्म पुग्न सक्ने बताए।

पूर्व राष्ट्रपतिलाई आफूले जति सम्मान दिएको अरुले नदिएको दाबी गर्दै ओलीले हाल देखिएको उनको गतिविधि पार्टी एकता र आन्दोलनको हित विपरीत भएको उल्लेख गरे। सदस्यता खोस्यो, नेतृत्वले देश चलाउन सकेनजस्ता मिथ्या आरोप सार्वजनिक गर्ने कामले पार्टीलाई फाइदा गर्दैन, ओलीले भने।
ओलीको भनाइअनुसार, भण्डारीलाई अहिले नै सम्मानजनक हैसियत कायम राख्नु उपयुक्त हुने भन्दै उनले पार्टी फुटाउने खालको राजनीतिक कदम नचलाउन आग्रह गरेका छन्।

















