राजनीतिक दृढताले मात्रै सम्भव भयो लोडसेडिङको अन्त्य – प्रचण्ड
वि.सं.२०८२ भदौ ११ बुधवार १८:४९
shares

काठमाडौं, ११ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा र कृषिलाई गणतन्त्र स्थापना पश्चात् पहिलो सरकारकै शीर्ष प्राथमिकता बनाइएको स्मरण गर्दै ऊर्जा क्षेत्रमा भएको प्रगतिलाई राजनीतिक भिजन र आँटकै उपलब्धि भएको दाबी गरेका छन्।
पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय ऊर्जा संवादमा प्रचण्डले लोडसेडिङ अन्त्य गर्न “उज्यालो अभियान” सुरू गरिएको र त्यसमा आफूले निर्णायक राजनीतिक साहस देखाएको बताए।“जनार्दन शर्मालाई मन्त्री बनाउनेदेखि कुलमान घिसिङलाई नेतृत्वमा ल्याउने निर्णय परम्परागत ढाँचा भत्काएर नयाँ सेटिङ बनाउन खोजिएको राजनीतिक आँट थियो,” उनले भने।
उनले भारत र बंगलादेशसँग ऊर्जा व्यापार अघि बढाउन आफ्नै पहल रहेको स्मरण गर्दै लगानीमैत्री वातावरण बनाउन माओवादी नेतृत्वकै सरकार दृढ रहेको पनि बताए।प्रचण्डले हाल देखिएको अस्वस्थ प्रतिस्पर्धा, विधेयक पारितमा ढिलाइ र नौकरशाहीको पुरानो सोचलाई मुख्य अवरोध बताउँदै सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरे।ऊर्जा क्षेत्रमा भएको प्रगतिलाई केवल प्राविधिक व्यक्तिलाई मात्र श्रेय दिनु गलत हुने भन्दै उनले राजनीतिक नेतृत्वको भिजन र रणनीतिक निर्णय नै निर्णायक भएको दोहोर्याए।

















