पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने ।
वि.सं.२०८२ साउन ६ मंगलवार ०७:४५
shares
इस्लामबाद, ६ साउन । पाकिस्तान हक्की टोली भारतमा हुने एसिया कपमा सहभागी नहुने भएको छ । यस अघि गत फेब्रुअरी–मार्चमा भएको च्याम्पियन्स ट्रफीमा भारतीय क्रिकेट टोली पाकिस्तानसँग खेल्न पाकिस्तान गएको थिएन । भारतले आफ्ना सबै खेल तटस्थ स्थान दुबईमा खेलेको थियो । पाकिस्तान हक्की महासंघ (पीएचएफ) ले अर्को महिना भारतमा हुने एसिया कपका लागि आफ्नो टोली पठाउन नसक्ने अन्तर्राष्ट्रिय हक्की महासंघ (एफआईएच)लाई जानकारी दिएको छ । भारतको वर्तमान अवस्था र सुरक्षा चिन्ताका कारण यो निर्णय गरिएको पीएचएफले जनाएको छ ।
हक्की एसिया कप अगस्ट २७ देखि ७ सेप्टेम्बरसम्म बिहारको राजगीर स्टेडियममा खेलाइने यसअघि नै तय भइसकेको छ । पीएचएफका अध्यक्ष तारिक बुग्तीले एफआईएच र एसियन हक्की महासंघ (एएचएफ) लाई पत्र लेखेर आफ्नो चिन्ता व्यक्त गरेका छन्। बुग्तीका अनुसार पाकिस्तानी खेलाडीहरू पनि भारतमा हुने एसिया कपमा सहभागी हुन उत्सुक छैनन् । यो प्रतियोगिता विश्वकपका लागि छनोट पनि हो ।
पीएचएफले भन्यो– हाम्रा खेलाडीको सुरक्षाको ग्यारेन्टी के छ ? पीएचएफ प्रमुखले भारतमा आफ्नो टोलीको सुरक्षाको ग्यारेन्टी के हो भन्ने प्रश्न पनि उठाएका छन्। तर पाकिस्तान सरकारले यस विषयमा अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । हालै एक वरिष्ठ सरकारी अधिकारीले टोलीले भारत भ्रमण नगर्ने बताएका हुन् ।
उता, भारतीय खेलकुद मन्त्रालयले पाकिस्तान हक्की टोलीलाई भारतमा खेल्न अनुमति दिएको छ । भारतीय खेलकुद मन्त्रालयले पाकिस्तान हक्की टोलीलाई एसिया कप भारतमा खेल्ने अनुमति दिएको हो । मिडिया रिपोर्टका अनुसार खेलकुद मन्त्रालयले सो कुरा जनाइसकेको छ। हामी कुनै पनि बहुराष्ट्रिय च्याम्पियनसिपमा भारतमा खेल्ने टोलीको विरुद्धमा छैनौं, द्विपक्षीय शृंखलाको मामला फरक छ, भारतीय खेलकुद मन्त्रालयको प्रतिक्रिया छ ।












