राप्रपामा नेतृत्व विवाद चुलियो, इतर समूहको छुट्टै भेला
वि.सं.२०८२ असार २८ शनिवार १५:३४
shares

काठमाडौं, असार २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद झन् चर्किँदै गएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै इतर समूहले छुट्टै भेला गरी नेतृत्वको खुलेरै विरोध गरेको छ।
पार्टीका महामन्त्री धवलशम्शेर राणाको अगुवाइमा शनिवार नक्सालस्थित उनको निजी सचिवालयमा आयोजित भेलाले अध्यक्ष लिङ्देनमाथि स्वेच्छाचारी र विधिविपरीत ढंगमा पार्टी सञ्चालन गरेको आरोप लगाएको छ।इतर समूहले पछिल्ला निर्णयहरू पार्टी विधानको उल्लङ्घन भएको जिकिर गर्दै निर्वाचन आयोगमा जानकारी गराउने तयारी समेत गरिरहेको बताइएको छ।
केही दिन अघि मात्रै अध्यक्ष लिङ्देनले सगुन सुन्दर लावतीलाई प्रवक्ताबाट बर्खास्त गरेका थिए। यस्तै पछिल्लो समय चलेको राजावादी आन्दोलनका संयोजक बनाइएका नवराज सुवेदीलाई अनुशासन समिति संयोजकबाट हटाएर रिक्त पदमा रोशन कार्कीलाई जिम्मेवारी दिएका थिए।
यही विषयमा राप्रपाको विवाद पेचिलो बनेको बताइएको छ। असन्तुष्ट समूहले अध्यक्ष लिङ्देनले अवैधानिक तवरबाट उक्त निर्णय गरेको आरोप लगाएको छ। छुट्टै भेलामा पार्टीका पूर्वअध्यक्ष तथा निर्देशन समिति प्रमुख डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, पूर्वमन्त्री हरिबहादुर बस्नेत, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री कुन्ती कुमारी शाही, सहायक महामन्त्री प्रेम बलायर, ऋषिराज देवकोटा, सौरेन्द्रबहादुर शाहलगायत झण्डै ५० जना नेताहरूको सहभागिता थियो।
स्रोतका अनुसार, लिङ्देन नेतृत्वमाथिको असन्तुष्टि केही समयदेखि मौन असन्तोषका रूपमा रहेको भए पनि पछिल्लो समय प्रवक्ता बर्खास्ती लगायतका निर्णयले यसलाई सतहमा ल्याएको हो।पार्टीको मूल नेतृत्व र इतर समूहबीचको टकराव समाधानको दिशातर्फ जाने हो वा विभाजनतर्फ, त्यसको निष्कर्ष आउँदो केही दिनमै स्पष्ट हुने राजनीतिक विश्लेषकहरू बताउँछन्।
















