काठमाडौँ, । आज विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष नोभेम्बर २१...

पुरा पढ्नुहाेस्

Park Safari Resort

एमबीबीएस अध्ययनका लागि १० हजार ३२२ विद्यार्थी योग्य, २ हजार ७४५ सिटमा भर्ना प्रक्रिया सुरु हुँदै

एमबीबीएस, चिकित्सा शिक्षा आयोग, एमबीबीएस प्रवेश परीक्षा, चिकित्सा शिक्षा, एमबीबीएस नतिजा, मेडिकल कलेज, छात्रवृत्ति, शिक्षा समाचार, शैक्षिक सत्र २०८३/०८४

1.04K
shares

काठमाडौँ । शैक्षिक सत्र २०८३/०८४ मा एमबीबीएस अध्ययनका लागि १० हजार ३२२ जना विद्यार्थी योग्य भएका छन् । चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षामा सहभागीमध्ये उक्त सङ्ख्यामा विद्यार्थीले आवश्यक न्यूनतम कटअफ अङ्क प्राप्त गरेका हुन् ।

आयोगले सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा उत्तीर्ण हुन न्यूनतम ५६.२५ अङ्क निर्धारण गरिएको थियो । यस वर्ष एमबीबीएस अध्ययनका लागि कुल २ हजार ७४५ सिट निर्धारण गरिएको छ । परीक्षामा सर्वाधिक अङ्क प्राप्त गर्ने विद्यार्थीले १८७.५ अङ्क ल्याएका छन् ।

कुल सिटमध्ये १ हजार ८४० सिट नेपाली विद्यार्थीका लागि छुट्याइएको छ भने ९०५ सिट विदेशी विद्यार्थीका लागि निर्धारण गरिएको छ । विदेशी विद्यार्थीका लागि छुट्याइएको सिट कुल सिटको करिब एकतिहाइ हो ।

गत कात्तिक १४ गते आयोगले एमबीबीएस शैक्षिक कार्यक्रमका लागि एकीकृत प्रवेश परीक्षा सञ्चालन गरेको थियो ।

आयोगका अनुसार परीक्षामा १०७ जना परीक्षार्थीले रोलनम्बरको बबल सही तरिकाले भरेका थिएनन् । त्यस्तै, ११ जनाले सेट र रोलनम्बर दुवैको बबल सही तरिकाले भरेका थिएनन् भने ६९ जनाले सेटको बबल सही तरिकाले भरेका थिएनन् ।

अब कसरी अघि बढ्छ भर्ना प्रक्रिया ?

एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएपछि अब भर्नासम्बन्धी विभिन्न प्रक्रिया अघि बढ्नेछन् ।

सबैभन्दा पहिले नतिजामा चित्त नबुझेका विद्यार्थीले रीटोटलिङका लागि निवेदन दिन सक्नेछन् । त्यसपछि चिकित्सा शिक्षा आयोगले जनजाति, अपाङ्गता भएका व्यक्ति, महिला, पिछडिएको क्षेत्रलगायतका समूहगत आधारमा नतिजा प्रकाशन गर्नेछ ।

समूहगत नतिजा सार्वजनिक भएपछि विद्यार्थीलाई नतिजामाथि दाबी–विरोध गर्ने अवसर दिइनेछ । दाबी–विरोधसम्बन्धी प्रक्रिया पूरा भएपछि अन्तिम नतिजा प्रकाशन गरिनेछ ।

त्यसपछि उत्तीर्ण विद्यार्थीले कलेज तथा उपलब्ध सिटअनुसार आफ्नो प्राथमिकता निर्धारण गरी फाराम भर्नुपर्नेछ । आयोगले कुन कलेजमा कुन समूहका लागि कति सिट उपलब्ध छन् भन्ने विवरण सार्वजनिक गर्नेछ ।

भर्ना प्रक्रियाको सुरुवात विदेशी विद्यार्थीको कोटाबाट गरिनेछ । विदेशी विद्यार्थीका लागि ओपन हाउस म्याचिङ प्रक्रिया सञ्चालन हुनेछ । यस प्रक्रियामा विदेशी विद्यार्थीले आफूले चाहेको कलेज छनोट गर्न पाउनेछन् ।

विदेशी विद्यार्थीको कोटामा सबै सिट भरिन नसकेमा बाँकी रहेका सिट नेपाली विद्यार्थीले पाउने अवसर हुनेछ ।

त्यसपछि नेपाली विद्यार्थीका लागि अनलाइन माध्यमबाट छात्रवृत्तितर्फको म्याचिङ प्रक्रिया सञ्चालन गरिनेछ । बाँकी रहेका अन्य सिटका लागि र्‍यापअप म्याचिङ तथा वैकल्पिक म्याचिङ प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ ।

चिकित्सा शिक्षा आयोगका सूचना अधिकारी अर्जुन ढकालले भर्नासम्बन्धी सबै प्रक्रिया पूरा हुन अझै करिब एक हप्ता लाग्ने बताएका छन् ।

उनका अनुसार नतिजा सार्वजनिक भए पनि त्यसपछिका प्रशासनिक तथा भर्नासम्बन्धी प्रक्रिया पूरा गर्न केही समय लाग्नेछ । आयोगले छिट्टै कलेजअनुसार सिट र समूह छुट्याएर उत्तीर्ण विद्यार्थीलाई आवश्यक जानकारी गराउने तयारी गरेको छ ।