काठमाडौँ, । आज विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष नोभेम्बर २१...

पुरा पढ्नुहाेस्

Park Safari Resort

१० करोड खर्चेर बनाइएको कान्ति ताल संरक्षण अभावमा जीर्ण

रेलिङ र पूर्वाधार भत्किए, झाडीले ढाकिँदै तालको सौन्दर्य हराउँदै; पर्यटकीय गन्तव्य र जैविक विविधताको संरक्षणमा बेवास्ता भएको स्थानीयको गुनासो

1.3K
shares

नेपालगन्ज । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब १० करोड रुपैयाँ खर्च गरेर निर्माण गरिएको नेपालगञ्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ । ठूलो लगानीमा निर्माण गरिएका संरचनाको उचित रेखदेख तथा मर्मतसम्भार हुन नसक्दा तालको सौन्दर्य घट्दै गएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको कान्ति ताल परिसरमा निर्माण गरिएका रेलिङलगायतका पूर्वाधार भत्किएका छन् । ताल क्षेत्र झाडी र बुट्यानले ढाकिँदै गएको छ भने पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले बनाइएका संरचनासमेत जीर्ण अवस्थामा पुगेका छन् । सामान्य मर्मतसम्भार र नियमित सरसफाइसमेत हुन नसक्दा ठूलो लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको स्थानीयको गुनासो छ ।

नेपालगन्ज–२२ पुरैनीका स्थानीय चेतबहादुर थापाले संरक्षण र रेखदेखको अभावमा कान्ति तालको अवस्था दिनप्रतिदिन बिग्रँदै गएको बताए ।‘कान्ति ताललाई पर्यटकीयस्थल बनाउन ठूलो बजेट खर्च गरिएको हो । तर, अहिले यहाँका संरचना भत्किएका छन्, झाडी बढेको छ । संरक्षणका लागि पटकपटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि सुनुवाइ भएको छैन’, उनले भने ।

थापाका अनुसार कान्ति ताल पर्यटकीयस्थल मात्र नभई जैविक विविधताका दृष्टिले पनि महत्वपूर्ण क्षेत्र हो । विभिन्न प्रजातिका चराचुरुङ्गीको प्राकृतिक बासस्थान रहेको तालको संरक्षणमा बेवास्ता हुँदा यहाँको पर्यावरणीय महत्वसमेत जोखिममा परेको उनको भनाइ छ ।

‘यो तालको महत्व पर्यटकीय पूर्वाधारमा मात्र सीमित छैन । यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी पाइन्छन् । तालको प्राकृतिक स्वरूप जोगाउन सकिए यसले पर्यटनसँगै जैविक विविधताको संरक्षणमा पनि योगदान पुर्‍याउँछ’, थापाले भने ।

पर्यावरण तथा चरा संरक्षणमा क्रियाशील अभियानकर्मीले पनि कान्ति तालको प्राकृतिक स्वरूप जोगाउन र पुरानै अवस्थामा फर्काउन माग गर्दै आएका छन् । तालको पर्यावरणीय महत्वलाई ध्यानमा राखेर संरक्षणका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरूको जोड छ । तर, सम्बन्धित निकायबाट आवश्यक पहल नहुँदा तालको अवस्था सुधार हुन सकेको छैन ।

ताल सञ्चालनका लागि वार्षिक २८ लाख रुपैयाँ राजस्व बुझाउने सम्झौता गरी जिम्मा लिएका फनबहादुर गुरुङले पनि ताल परिसरमा निर्माण गरिएका पूर्वाधार तोडफोड भएको बताए ।‘ताल परिसरमा निर्माण गरिएका रेलिङ तथा अन्य संरचनामा क्षति पुगेको छ । लागूऔषध प्रयोगकर्ताले ती संरचना तोडफोड गरेको हुनसक्ने देखिन्छ । संरचनाको संरक्षण र नियमित रेखदेखका लागि प्रभावकारी व्यवस्था आवश्यक छ’, उनले भने ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले विगतमा निर्माण गरिएका योजनाले अपेक्षित नतिजा दिन नसकेको स्वीकार गरेका छन् । उनले सरोकारवाला निकायसँग छलफल गरेर कान्ति तालको दिगो संरक्षण र व्यवस्थापनका लागि नयाँ योजना बनाउने तयारी भइरहेको बताए ।

‘विगतमा निर्माण गरिएका योजनाले सोचेअनुसारको नतिजा दिन सकेनन् । अब सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिसँग गहन छलफल गरेर कान्ति तालको दिगो संरक्षण र व्यवस्थापनका लागि प्रभावकारी योजना बनाउने तयारीमा छौँ’, प्रवक्ता रिजालले भने ।

उपमहानगरपालिकाले नयाँ योजना बनाउने बताए पनि यसअघि खर्च गरिएको करिब १० करोड रुपैयाँको प्रतिफल र निर्माण भएका संरचनाको संरक्षणबारे प्रश्न उठेको छ । सात वर्षअघि सुरु गरिएको योजनाले अपेक्षित गति लिन नसक्दा तालको विकासका लागि गरिएको लगानी खेर जाने जोखिम बढेको छ ।

नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले कान्ति तालको तत्काल संरक्षण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताए ।‘कान्ति ताल नेपालगञ्जको पर्यटन र आर्थिक समृद्धिसँग जोडिएको महत्वपूर्ण सम्पत्ति हो । यसलाई जीर्ण अवस्थामा छाड्नु हुँदैन । भएका संरचनाको मर्मतसम्भार गरेर तालको प्राकृतिक र पर्यटकीय महत्व जोगाउन तत्काल पहल गर्नुपर्छ’, श्रेष्ठले भने ।

कान्ति ताललाई व्यवस्थित गर्न सके आन्तरिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय आर्थिक गतिविधि बढाउन र जैविक विविधताको संरक्षण गर्नसमेत सहयोग पुग्ने सम्भावना छ । त्यसैले निर्माण भएका संरचनाको मर्मत, नियमित सरसफाइ, सुरक्षा व्यवस्था र तालको प्राकृतिक वातावरण संरक्षणलाई प्राथमिकता दिँदै दीर्घकालीन व्यवस्थापन योजना कार्यान्वयन गर्नुपर्ने स्थानीयको माग छ ।