काठमाडौँ, । आज विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष नोभेम्बर २१...

पुरा पढ्नुहाेस्

Park Safari Resort

पूर्वराजा ज्ञानेन्द्रले भने– राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा

विजयादशमीको शुभकामना सन्देश जारी गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र देशभक्तिको भावना बलियो बनाउन आग्रह

1.77K
shares

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक तथा सामाजिक क्षेत्र अन्योल र असमञ्जसको अवस्थामा रहेको बताएका छन्। विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय एकता, सामाजिक सद्भाव र देशभक्तिको भावना बलियो बनाउन सबै नेपालीलाई आग्रह गरेका छन्।

पूर्वराजा शाहले देशमा आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै गत भदौमा आएको भीषण बाढी र असोजमा परेको अविरल वर्षाका कारण जनधनको ठूलो क्षति भएको उल्लेख गरेका छन्। उनले विपत्तिको सामना गर्न सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

शुभकामना सन्देशमा उनले भोटेकोशीमा आएको भीषण बाढी तथा देशका विभिन्न भूभागमा परेको अविरल वर्षा र बुढीगण्डकी क्षेत्रमा आएको बाढीका कारण जनधनको ठूलो क्षति भएको बताएका छन्।

उनले विपत्तिबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र प्रभावित नागरिकको पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। साथै, बाह्य सहयोग लिँदा राष्ट्रिय स्वाभिमान र स्थानीय परम्परामा आँच आउन नदिनुपर्नेमा जोड दिएका छन्।

नेपालको पहिचान भूगोलमा मात्र सीमित नरहेको उल्लेख गर्दै पूर्वराजा शाहले भनेका छन्, ‘नेपाल केवल भूगोल मात्र होइन, यो हाम्रो साझा इतिहास, आस्था, संस्कृति, परम्परा अनि चिनारी पनि हो।’

उनले देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै राज्य प्रणाली सञ्चालनमा देखिएका कमजोरी सुधार गर्नुपर्ने बताएका छन्। सुशासन, निष्पक्षता, जनउत्तरदायी व्यवस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाउनु आवश्यक रहेको उनको भनाइ छ।

‘नेपालीको मनमा करुणा, समाजमा सद्भाव र देशभक्तिको भावना झन् बलियो बन्दै जाओस्। विभाजित होइन, एकताबद्ध नेपाल, परनिर्भर होइन आत्मनिर्भर नेपाल, कमजोर होइन सबल र सक्षम नेपाल निर्माण गर्ने सोच हामी सबैमा जागृत होस्,’ सन्देशमा भनिएको छ।

पूर्वराजा शाहले बडादसैँले सत्य, न्याय र शक्तिको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।