काठमाडौं, १३ साउन । आज  जुलाई २९, विश्वभर विश्व बाघ दिवस (International Tiger Day)...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना, मेघगर्जनसहित वर्षा हुने

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली क्षेत्रमा वर्षासँगै हिमपात हुन सक्ने

130
shares

काठमाडौं, १३ साउन । देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेकाले देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।

हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ। मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ।

देशका हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षासँगै हिमपात हुन सक्नेछ। त्यस्तै, पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा कोशी प्रदेशको तराई र मधेश प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै, सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षासँगै हिमपात हुने सम्भावना छ भने पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

रातिको समयमा विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।