महिलामाथि हुने विभेद र हिंसाको अन्त्य गर्न सबैको सक्रिय भूमिका आवश्यक : राष्ट्रपति रामचन्द्र पौडेल
आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा लैङ्गिक समानता, महिला सहभागिता र सुरक्षित समाज निर्माणमा सहकार्यको आवश्यकता औंल्याए
वि.सं.२०८३ जेठ १६ शनिवार ०७:४५
shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा तथा असमानताको अन्त्य गरी सम्मानजनक र सुरक्षित समाज निर्माण गर्न राज्य, नागरिक समाज तथा सम्पूर्ण समुदायको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्।
आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा जारी शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले “महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान” भन्ने आदर्श वाक्यलाई सार्थक बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेका हुन्।
उनले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै महिलामाथि हुने हिंसा र विभेद अन्त्य गर्नु सबैको साझा दायित्व भएको बताए।राष्ट्रपति पौडेलले घर, समाज, कार्यस्थल तथा निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै लैङ्गिक समानता प्रवर्द्धनका लागि राज्य र नागरिक समाज बीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको बताए।उनले महिला अधिकार सुनिश्चित गर्दै लैङ्गिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासहरूको सम्मान गर्दै यस दिवसले थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले महिला सशक्तीकरण समान अवसर र सम्मानजनक जीवनको सुनिश्चिततामार्फत समृद्ध र न्यायपूर्ण समाज निर्माणमा राष्ट्रिय महिला अधिकार दिवसले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा समेत व्यक्त गरेका छन्।
















