आजदेखि बजेट अधिवेशन, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
अध्यादेशदेखि आगामी आर्थिक वर्षको बजेटसम्मका विषयमा केन्द्रित रहने अधिवेशन, दिउँसो प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठक पनि बस्ने
वि.सं.२०८३ वैशाख २८ सोमवार ०८:३८
shares
फाइल तस्वीर
काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। अधिवेशनको पहिलो दिन नै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।
सङ्घीय संसद् सचिवालयका अनुसार आज अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्नेछ। उक्त बैठकमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ अनुसार सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। संसद् सचिवालयले सबै सांसदहरूलाई बैठक सुरु हुनुभन्दा अगाडि नै उपस्थित हुन आग्रह गरेको छ।
यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका अलग–अलग बैठक सञ्चालन हुनेछन्। प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइने तथा मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी जानकारी सदनलाई गराइने कार्यसूची रहेको छ।
त्यसैगरी सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन, प्रतिनिधिसभा नियमावली–२०७९ अन्तर्गत जारी बाधा अड्काउ फुकाउ आदेश अनुमोदन, तथा नियमावली मस्यौदा प्रस्तुत गर्ने कार्य पनि आजको बैठकमा समावेश गरिएको छ।
सरकारले यस अधिवेशनमार्फत विभिन्न महत्त्वपूर्ण अध्यादेशहरू संसद्मा पेस गर्ने तयारी गरेको छ। सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश–२०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०८३ तथा संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन अध्यादेश–२०८३ लगायतका अध्यादेश दुवै सदनमा पेस गरिने संसद् सचिवालयले जनाएको छ। यस वर्षको बजेट अधिवेशन मुख्यतःआगामी आर्थिक वर्षको बजेटनिर्माण नीतितथा कार्यक्रममाथिको छलफल तथा आर्थिक विधेयक पारित गर्ने प्रक्रियामा केन्द्रित रहनेछ।


















