ताङतिङमा दिगो पर्यटनको नयाँ पहल: सामुदायिक कोचिङबाट स्थानीय सशक्तिकरण
१४ वर्षे होमस्टे सफलतापछि अब सीप, उत्पादन र व्यवस्थापनमा जोड
वि.सं.२०८२ चैत ११ बुधवार १५:४९
shares

पोखरा । कास्कीको मादी गाउँपालिका–२ ताङतिङमा ग्रामीण पर्यटनलाई अझ व्यवस्थित र दिगो बनाउने लक्ष्यसहित सामुदायिक कोचिङ कार्यक्रम सुरु गरिएको छ। प्राकृतिक सौन्दर्य र गुरुङ संस्कृतिले पहिचान बनाएको ताङतिङमा अब पर्यटनलाई व्यावसायिक र दीर्घकालीन बनाउन स्थानीयलाई केन्द्रमा राखेर यो पहल थालिएको हो।


स्वीस कन्ट्याक्टको आर्थिक सहयोगमा होमस्टे महासंघ नेपाल, मादी गाउँपालिका र युनाइटेड कम्युनिटी नेपालको सहकार्यमा चैत ८ गतेदेखि कार्यक्रम सञ्चालनमा आएको हो। करिब १० महिनासम्म चल्ने कार्यक्रमका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
१४ वर्षअघि १४ घरबाट सुरु भएको सामुदायिक होमस्टे अहिले ताङतिङको प्रमुख आयस्रोत बनेको छ। पछिल्लो समय निजी होटल व्यवसाय पनि विस्तार हुँदै जाँदा पर्यटन गतिविधि थप सक्रिय बनेको छ। माछापुच्छ्रे र अन्नपूर्ण हिमालको मनोरम दृश्यसँगै ट्रेकिङ र सांस्कृतिक अनुभवका लागि ताङतिङ पर्यटकको रोजाइमा पर्न थालेको छ।

मादी गाउँपालिकाकी उपाध्यक्ष कल्पना गुरुङका अनुसार, पहिले रोजगारीका लागि बाहिर जान बाध्य स्थानीयहरू अहिले गाउँमै होमस्टे र होटल सञ्चालन गरेर आम्दानी गर्न थालेका छन्।यो कार्यक्रमले उनीहरूको क्षमता अझ बढाउनेछ, उनले भनिन्।कार्यक्रमअन्तर्गत दिगो पर्यटन, फोहोर व्यवस्थापन, स्थानीय पाककला, पर्यटन उत्पादन विकास, गाइड सीप, वित्तीय साक्षरता, मेनु डिजाइन र पर्यटन प्याकेजिङलगायत विषयमा प्रशिक्षण दिइनेछ। यसले स्थानीय उद्यमशीलता प्रवर्द्धनसँगै पर्यटन सेवाको गुणस्तर सुधारमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।















