काठमाडौं, २६ फागुन । प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फको मतगणना सकिएपछि अहिले सबैको...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

समानुपातिक मतगणनामा पनि रास्वपाको वर्चस्व, कांग्रेस र एमाले धेरै पछाडि

करोडभन्दा बढी मत गणना हुँदा रास्वपाले ५० लाख नाघ्यो, कांग्रेस–एमालेबीच दोस्रो स्थानको प्रतिस्पर्धा

585
shares

काठमाडौं, २६ फागुन । प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फको मतगणना सकिएपछि अहिले सबैको ध्यान समानुपातिकतर्फ केन्द्रित भएको छ। जारी मतगणनाले प्रत्यक्षमा जस्तै समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्पष्ट वर्चस्व देखाएको छ।

निर्वाचन आयोगका अनुसार आज बिहान ११ः३० बजेसम्म १ करोड ४ लाख ४४ हजार ४२५ समानुपातिक मत गणना भएको छ। यसमध्ये रास्वपाले ५० लाख १५ हजार ५१० मत प्राप्त गर्दै अन्य दलभन्दा धेरै अगाडि देखिएको छ। प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपा ले समानुपातिक मतबाट मात्रै पनि करिब ५८ सिट थप्ने सम्भावना देखिएको छ।समानुपातिक मतमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले हालसम्म १६ लाख ९५ हजार ३९८ मत प्राप्त गरेको छ। प्रत्यक्षमा १८ सिट जितेको कांग्रेस ले समानुपातिकबाट करिब १९ सिट थप्ने सम्भावना देखिएको छ।यसैगरी नेकपा एमाले ले समानुपातिकतर्फ १४ लाख १३ हजार १६७ मत प्राप्त गरेको छ। प्रत्यक्षमा ९ सिट जितेको एमाले ले समानुपातिकबाट करिब १६ सिट थप्न सक्ने अनुमान गरिएको छ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टी ले समानुपातिकतर्फ ७ लाख ६८ हजार ५६२ मत पाएको छ। प्रत्यक्षमा ७ सिट जितेको उक्त पार्टीले समानुपातिकबाट करिब ९ सिट थप्ने सम्भावना रहेको देखिन्छ।चार महिनाअघि मात्रै स्थापना भएको श्रम संस्कृति पार्टी ले पनि उल्लेखनीय मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ ३ सिट जितेको यस पार्टीले समानुपातिकमा ३ लाख ५८ हजार ४८६ मत पाएको छ। यसले ३ प्रतिशत थ्रेसहोल्ड पार गर्दै राष्ट्रिय पार्टीको मान्यता पाउने र करिब ४ सिट थप्ने सम्भावना देखिएको छ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि ३ लाख २५ हजार ३९१ मत प्राप्त गर्दै थ्रेसहोल्ड पार गरेको छ। प्रत्यक्षमा एक सिट जितेको राप्रपा ले समानुपातिकतर्फबाट करिब ४ सिट थप्ने सम्भावना देखिएको छ।समानुपातिक मतगणना अझै जारी रहेकाले अन्तिम नतिजासँगै दलहरूले पाउने सिट संख्या केही घटबढ हुन सक्ने निर्वाचन अधिकारीहरूले बताएका छन्। तर हालसम्मको मत प्रवृत्तिले प्रतिनिधि सभामा रास्वपाको प्रभाव अझै बलियो हुने संकेत दिएको छ।