झापा–५ बाट बालेन शाहको ऐतिहासिक जित, केपी ओली भारी मतले पराजित
६८ हजार ३४८ मतसहित विजयी, करिब ५० हजार मत अन्तरले ओलीलाई पछि पार्दै नयाँ कीर्तिमान
वि.सं.२०८२ फागुन २३ शनिवार १९:५७
shares

झापा । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत झापा–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह ऐतिहासिक मतसहित विजयी भएका छन्। बालेन शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन्। यससँगै बालेनले ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गरेका छन्।
झापा–५ मा प्राप्त यस नतिजाले देशको राजनीतिक वृत्तमा ठूलो चर्चा पैदा गरेको छ। लामो समयदेखि राष्ट्रिय राजनीतिमा प्रभावशाली मानिएका ओलीलाई ठूलो मतान्तरले पराजित गर्दै बालेनले नयाँ राजनीतिक सन्देश दिएका छन्।
यस जितसँगै बालेन शाह नेपालमा हालसम्म भएका संसदीय निर्वाचनमध्ये सबैभन्दा धेरै मत प्राप्त गरेर विजयी हुने उम्मेदवार समेत बनेका छन्। उनको जितलाई रास्वपाको बढ्दो लोकप्रियता र नयाँ राजनीतिक शक्तिको उदयका रूपमा विश्लेषण गर्न थालिएको छ।
यस परिणामपछि राष्ट्रिय राजनीतिमा नयाँ समीकरण र बहस सुरु भएको छ भने बालेनको भूमिका आगामी संसद् तथा सरकार गठनमा महत्वपूर्ण हुन सक्ने आँकलन समेत गरिएको छ।


















