दुर्गा प्रसाईं समूहमार्फत घोषणा गरिएको बन्द-हड्ताल कार्यक्रम स्थगित
शनिबार बालुवाटारमा सम्पन्न वार्तापछि बन्द–हड्ताल फिर्तालिने सहमति बनेको सहमतिपत्रमा उल्लेख गरिएको छ।
वि.सं.२०८२ मंसिर ७ आइतवार ०८:३४
shares
काठमाडौँ । सरकारसँगको औपचारिक वार्ता सफल भएपछि दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल ले आइतबारका लागि घोषणा गरेको नेपाल बन्द तथा अनिश्चितकालीन आम हड्ताल फिर्ता लिएको छ। शनिबार बालुवाटारमा सम्पन्न वार्तापछि बन्द–हड्ताल फिर्तालिने सहमति बनेको सहमतिपत्रमा उल्लेख गरिएको छ।
बैठकमा महाअभियानले अघि सारेका २७ बुँदे मागबारे विस्तृत छलफल भएको सरकार र अभियानको संयुक्त धारणा छ। वार्ताका क्रममा शान्ति–सुरक्षाको समग्र स्थिति, आन्दोलनका प्रभाव, र मागहरूको व्यावहारिक कार्यान्वयनबारे गम्भीर चर्चा भएको बताइएको छ।सरकारले अभियानका मुद्दाहरूको सम्बोधनका लागि निरन्तर संवाद, सहजीकरण तथा आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिन सहमत भएको सरकार र अभियानबीच भएको सहमतिमा उल्लेख छ ।
वार्तामा महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बु नेतृत्वको टोली सहभागी थियो। टोलीमा अधिवक्ताहरू विनोदमणि भट्टराई, लवण न्यौपाने र डा. निराजन प्रसाईं समेत सहभागी थिए।सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, सल्लाहकार गोविन्द नारायण तिमिल्सिनालगायत उपस्थित थिए। वार्तासँगै आन्दोलनबाट उत्पन्न तनाव कम भएको र आगामी दिनमा सहमतिका बुँदाहरू कार्यान्वयनमा ल्याउन दुवै पक्षले निरन्तर संवाद जारी राख्ने जनाइएको छ।

















