कुमारी घरको प्राचीन पहिचान फर्किँदै, २५ वर्षपछि तोरण पुनःस्थापना हुने
वि.सं.२०८२ मंसिर २ मंगलवार ०९:१६
shares
फाइल तस्वीर
काठमाडौँ ।वसन्तपुरस्थित जीवित देवी श्रीकुमारीको वासस्थान कुमारी घरमा झण्डै २५ वर्षअघि चोरी भएको तोरण आगामी मंसिर ५ गते पुनःस्थापना गरिने भएपछि काठमाडौँ उपत्यकाको सांस्कृतिक बहस पुनः उत्साहित बनेको छ। चोरी, तस्करी र वर्षौंको अन्तर्राष्ट्रिय पहलपछि तोरण फर्केर कुमारी घरमा बस्न लागेको खबरले सम्पदा संरक्षणमा ‘सकारात्मक मोड’ आएको सरोकारवालाले बताएका छन्।
वि.सं. २०५६/०५७ तिर बेलुकीपख ट्याक्सीमा राखेर कुमारी घरबाट तीनै तोरण क्रमैसँग गायब भए। सम्पदा संरक्षक गौत्तम शाक्यका अनुसार, चोरीको घटनापछि तत्काल पुरातत्व विभाग र नेपाल प्रहरी दुवैलाई खबर गरिए पनि कुनै सुराग भेटिएन। करिब दुई दशकपछि तीमध्ये एक तोरण संयुक्त राज्य वेलायतस्थित बाराकाट संग्रहालयमा भेटियो। नेपालले १९७० को युनेस्को महासन्धिको कानुनी प्रावधान प्रयोग गर्दै कूटनीतिक पहल अघि बढाएपछि उक्त तोरण २०७८ चैत ४ गते नेपाली दूताबासमार्फत बुझाएर फिर्ता गरियो।
फर्किएको तोरण त्यसै वर्ष राष्ट्रिय संग्रहालय, छाउनीमा सुरक्षित रूपमा राखिएको थियो। तोरण चोरी भएपछि कुमारी घरका ढोका ‘बुच्चै’ भएको अवस्थालाई समुदायले निकै दुःखका साथ सम्झिन्छन्। करिब तीन वर्षपछि मात्र प्रतिकृति तोरण बनाउन लगाएर जडान गरिएको थियो। एक प्रतिमा बनाउन करिब ८० हजार रुपैयाँ खर्चिएको संरक्षक शाक्य स्मरण गर्छन्।सोमवार बसेको बैठकमा काठमाडौँ महानगरका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा थिंलाथ्व पारु (नेपाल संवत्को दोस्रो महिनाको पहिलो दिन) मा सामुदायिक सहभागितासहित तोरण पुनःस्थापना गर्ने निर्णय गरियो। वडा नम्बर २३ कार्यालयले संयोजन गर्ने, सरोकारवाला, सञ्चालक, संरक्षणकर्मी र स्थानीय समुदाय सबै मिलेर कार्यक्रम सम्पादन गर्ने उल्लेख गरिएको छ। बैठकमा अभियन्ता गणपति लाल श्रेष्ठले अब दोष खोज्ने समय होइन, ‘सहभागितामार्फत समाधान’ खोज्ने समय आएको बताए। कुमारी घरको मौलिकता, प्राचीनता र सांस्कृतिक गरिमा पुनःस्थापनाले अझ बलियो हुने उनकाे भनाइ थियो। सम्पदा अभियन्ता सञ्जय अधिकारीले अन्तर्राष्ट्रिय कूटनीतिबाट तोरण फिर्ता गरिएको अनुभव सुनाउँदै सम्पदा चोरी हुनु र मन्दिर भत्किनु समुदायिक व्यवस्थापनमा कमजोरीको संकेत हो भन्दै स्थानीय सरकारले दीर्घकालीन संरक्षण कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड थियो।
सांस्कृतिक सम्पत्ति अवैध रूपमा विदेश पुगेका प्रकरणहरूमा नेपालले वर्षौंदेखि १९७० को युनेस्को महासन्धि सक्रिय रूपमा प्रयोग गर्दै आएको छ। यसले अवैध आयात, निकासी र स्वामित्व हस्तान्तरणलाई निषेध गर्ने भएकाले चोरी गरिएका कलाकृति फिर्ता ल्याउन कानुनी आधार समेत प्रदान गर्छ। विश्वका १४५ देशले यसलाई मान्यता दिएका कारण मन्दिर–बहालका चोरी भएका धेरै कलाकृति फिर्ता ल्याउने मार्ग खुलेको अधिकारीहरू बताउँछन्।
प्राचीन स्मारक ऐन २०१३ अनुसार १०० वर्ष नाघेका संरचनालाई ‘सांस्कृतिक सम्पदा’ मानिन्छ। कुमारी बहाल राजा जयप्रकाश मल्लको शासनकाल (वि.सं. १८१४) मा निर्माण भएको इतिहासमा उल्लेख छ। त्यसैले एक मात्र तोरणको पुनःस्थापना पनि कुमारी घरको वास्तुकला र सांस्कृतिक आत्मा पुनःस्थापित हुने महत्वपूर्ण अवसर मानिएको छ।















