काठमाडौँ । आश्विन शुक्ल एकादशी अर्थात् टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट दसैँको टीका,...

पुरा पढ्नुहाेस्

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजार ५०० भन्दा बढी प्रतिनिधि सहभागी हुँदै

खुलामञ्चमा उद्घाटन, असोज १९ र २० गते बन्द सत्र; २१ र २२ गते निर्वाचन, प्रचारप्रसारमा भौतिक सामग्री प्रयोग गर्न प्रतिबन्ध

1.13K
shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन समारोह आज अपराह्न काठमाडौंको खुलामञ्चमा आयोजना हुँदैछ ।

महाधिवेशनको बन्द सत्र असोज १९ र २० गते सञ्चालन हुनेछ भने असोज २१ र २२ गते निर्वाचन प्रक्रिया अघि बढाइने नेपाली कांग्रेसले जनाएको छ । निर्वाचन राष्ट्रिय सभागृह र नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने तयारी गरिएको छ ।कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनमा स्वदेश तथा विदेशबाट गरी ७ हजार ५०० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधिहरूसमेत महाधिवेशनमा सहभागी हुन काठमाडौं आइसकेका छन् ।महाधिवेशन प्रतिनिधिहरूले शनिबारदेखि नै पार्टी केन्द्रीय कार्यालय बीपी नगर, सानेपामा दर्ता प्रक्रिया सुरु गरेका छन् । दर्ताका लागि विभिन्न प्रदेशका प्रतिनिधिका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ ।महाधिवेशन प्रतिनिधिले ३ हजार ५०० रुपैयाँ शुल्क तिरेर नाम दर्ता गरेपछि १५औँ महाधिवेशनको झोला प्राप्त गर्नेछन् । झोलामा पार्टीको विधान, कपी, कलमलगायत सामग्री राखिएको छ ।

कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन निम्तो दिइएको प्रवक्ता चालिसेले जानकारी दिएका छन् ।यद्यपि देउवा आफ्नो समूहको छुट्टै महाधिवेशन प्रक्रियामा अघि बढेका छन् ।महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई समेत आमन्त्रण गरिएको छ । प्रवक्ता चालिसेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम पौडेल उद्घाटन समारोहमा सहभागी हुने तय भएको छ ।विदेशी अतिथिका रूपमा सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवासमेत नेपाल आइसकेकी छन् ।

कांग्रेसले महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि आवासको व्यवस्था नगर्ने भएको छ । पार्टीले प्रतिनिधिहरूका लागि खाजा तथा खानाको व्यवस्था गर्ने भए पनि बसोबासको व्यवस्था भने आफैँ गर्नुपर्ने जनाएको छ ।प्रतिनिधिका लागि भृकुटीमण्डपमा खानाको व्यवस्था गरिनेछ । बिहानको खाजा, दिउँसोको खाना तथा बेलुकाको खाजाको व्यवस्था भृकुटीमण्डपमै गरिने तयारी छ ।आवास व्यवस्थापन उपसमितिका संयोजक रमेश धमलाका अनुसार प्रतिनिधिका लागि सुन्धारा, ठमेल, नयाँ बसपार्क, कलंकी, विमानस्थल क्षेत्रलगायत स्थानका होटलसँग पार्टीले समन्वय गरेको छ ।

कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारहरूले तडकभडक तथा भड्किलो प्रचारप्रसार गर्न नपाउने भएका छन् ।केन्द्रीय निर्वाचन समितिले विपद्पछिको संवेदनशील अवस्था, राष्ट्रिय भावना तथा वातावरणीय पक्षलाई ध्यानमा राख्दै निर्वाचन आचारसंहितामा कडा व्यवस्था गरेको जनाएको छ ।महाधिवेशन स्थल तथा आसपासका क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेटलगायत छापा तथा भौतिक प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।महाधिवेशन स्थल बाहिर, सार्वजनिक सडक तथा आसपासका क्षेत्रमा समेत भौतिक प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ ।उम्मेदवारहरूले आफ्ना एजेन्डा, उम्मेदवारी तथा प्रचार सामग्री डिजिटल माध्यमबाट मात्रै सार्वजनिक गर्न पाउनेछन् । सामाजिक सञ्जाल, अनलाइन तथा अन्य विद्युतीय माध्यमबाट प्रचारप्रसार गर्न भने अनुमति दिइएको छ ।

केन्द्रीय निर्वाचन समितिले भोटेकोशीलगायत देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएको र देश शोक तथा पुनरोत्थानको कठिन अवस्थामा रहेकाले महाधिवेशनलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन यस्तो व्यवस्था गरिएको जनाएको छ ।समितिले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै महाधिवेशनलाई अनुशासित र मर्यादित रूपमा सम्पन्न गर्न नेता, कार्यकर्ता, उम्मेदवार तथा शुभेच्छुकलाई आग्रह गरेको छ । आचारसंहिता उल्लङ्घन भएमा नियमअनुसार कारबाही गरिने निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिएका छन् ।

नेपाली कांग्रेसले १५औँ महाधिवेशनपछि केन्द्रीय कार्यसमितिलाई २३८ सदस्यीय बनाउने तयारी गरेको छ । हाल कांग्रेसको केन्द्रीय कार्यसमिति १६४ सदस्यीय छ ।नयाँ व्यवस्थाअनुसार पदाधिकारीको संख्या १४ बाट बढाएर १७ पुर्‍याइएको छ । सभापतिसहित १३ पदाधिकारी र १५६ सदस्य महाधिवेशनबाट निर्वाचित भएर आउने व्यवस्था गरिएको छ ।महाधिवेशनपछि सभापतिले तीन सहमहामन्त्रीसहित ६१ जना केन्द्रीय सदस्य मनोनयन गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि पदाधिकारीतर्फ कोषाध्यक्ष मात्रै मनोनयन गर्ने व्यवस्था थियो ।मनोनीत हुने तीन सहमहामन्त्रीमध्ये एक जना महिला अनिवार्य गरिएको छ । आठ समूहबाट एक–एक जना सहमहामन्त्री निर्वाचित हुने पुरानो व्यवस्था भने कायम राखिएको छ ।यससँगै कम्तीमा एक निर्वाचित र एक मनोनीत गरी दुई महिला पदाधिकारी सुनिश्चित हुने व्यवस्था गरिएको छ ।त्यस्तै सभापतिले मनोनयन गर्न पाउने केन्द्रीय सदस्यको संख्या पनि ४१ बाट बढाएर ६१ पुर्‍याइएको छ ।

कांग्रेसले ३५ वर्षमुनिका युवालाई समेत केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने व्यवस्था गरेको छ ।नयाँ व्यवस्थाअनुसार ३५ वर्षमुनिका २१ जना युवालाई आरक्षणका आधारमा केन्द्रीयसमितिमा ल्याइने तयारी छ । तीमध्ये प्रत्येक प्रदेशबाट कम्तीमा एक महिलासहित १४ जना र खुलाबाट सात जना निर्वाचित हुने व्यवस्था गरिएको छ ।कांग्रेसको १५औँ महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयनसँगै संगठनात्मक संरचनामा समेत महत्वपूर्ण परिवर्तन गर्ने अपेक्षा गरिएको छ । सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि हुने निर्वाचनले आगामी कार्यदिशा र नेतृत्वको स्वरूप निर्धारण गर्नेछ ।