भोटेकोशी बाढी : १ हजार ३८६ जनाको शव फेला, ४ हजार ८९ जना अझै बेपत्ता
रसुवा, नुवाकोटसहित विभिन्न जिल्लामा फेला परेका शवको पहिचान र व्यवस्थापन प्रक्रिया जारी
वि.सं.२०८३ भदौ २८ आइतवार १०:२०
shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ८ बजेसम्म १ हजार ३८६ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १८५ जना, नुवाकोटमा १९९ जना, धादिङमा ७१ जना, चितवनमा ३६४ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३० जना र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको हो ।
बाढीपछि फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलनदेखि आवश्यक कानुनी तथा व्यवस्थापकीय प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । हालसम्म १ हजार २३० वटा शव व्यवस्थापन गरिएको छ । शव पहिचान तथा व्यवस्थापनका क्रममा मृतकका १ हजार २८६ र आफन्तका १ हजार ८४६ गरी कुल ३ हजार १३२ वटा डीएनए नमुना सङ्कलन गरिएको छ ।
यसैगरी, पहिचान हुन नसकेका १ हजार ३५४ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ । परिवार तथा आफन्तलाई पहिचान प्रक्रियामा सहयोग पुर्याउने उद्देश्यले शवसम्बन्धी विवरण अपलोड गरिएको प्रहरीले जनाएको छ ।बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ ।
हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । उद्धार तथा खोजी अभियानसँगै विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा २ हजार ७१२ जना व्यक्तिहरूलाई राखिएको छ ।भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन सुरक्षा निकाय तथा सम्बन्धित निकायहरू निरन्तर परिचालित छन् ।


















