भोटेकोशी बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन
हालसम्म १० हजार ४५१ नागरिकको उद्धार, सम्पर्कविहीनमध्ये विदेशी नागरिकको संख्या ५९२
वि.सं.२०८३ भदौ १५ सोमवार ११:२४
shares
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यअन्तर्गत हालसम्म ९०३ जनाको शव फेला परेको छ भने ४ हजार २४७ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न स्थानबाट हालसम्म १० हजार ४५१ जना नागरिकको उद्धार गरिएको छ। उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजी तथा राहत र पुनःस्थापनाका कामसमेत जारी रहेका छन्।प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार फेला परेका शवमध्ये रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, तनहुँमा ३७ र चितवनमा २७२ जना रहेका छन्।
त्यस्तै, सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ३ जना रहेका छन्।बाढीबाट जलविद्युत् आयोजनामा कार्यरत तथा आयोजनासँग सम्बन्धित ९३३ जना, मकवानपुरका ६५ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।त्यसैगरी, ५९२ जना विदेशी नागरिक समेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। नेपाल घुम्न आएका तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकमध्ये १२७ जना पनि सम्पर्कविहीन रहेको जनाइएको छ।
लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि बाढीपछि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। भोटेकोशी तथा आसपासका नदीमा आएको बाढीले रसुवासहित नुवाकोट, धादिङ, गोरखा, नवलपरासी, तनहुँ, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ भने बेपत्ता भएकाहरूको खोजी र क्षतिको विवरण संकलन गर्ने काम जारी छ।


















