अविरल वर्षाले देशभरका ६ प्रमुख सडक पूर्ण अवरुद्ध, बीपी राजमार्ग र कान्ति लोकपथमा रात्रीकालीन आवागमन रोक
इलामदेखि रुकुमसम्म पहिरो र सडक कटानको असर, बाढी–पहिरोको जोखिम बढेपछि प्रहरीको अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह।
वि.सं.२०८३ साउन ३० शनिवार ०८:२६
shares
फाईल तस्वीर
काठमाडौं, ३० साउन । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा पहिरो र सडक कटान हुँदा प्रमुख राजमार्ग तथा सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, रुकुम पूर्व तथा रोल्पाका सडकमा सवारी आवागमन प्रभावित भएको छ।प्रहरीले अवरुद्ध सडक खुलाउन सम्बन्धित निकाय र स्थानीय तहसँग समन्वय गरी डोजर तथा प्राविधिक टोली परिचालन गरिएको जनाएको छ।
पूर्ण रूपमा अवरुद्ध भएका सडक
|
जिल्ला |
सडकखण्ड |
अवस्था |
|---|---|---|
|
इलाम |
मेची राजमार्ग (राजदुवाली) |
पूर्ण अवरुद्ध |
|
सिन्धुपाल्चोक |
अरनिको राजमार्ग (चारकिलो–लिपिङ) |
पूर्ण अवरुद्ध |
|
रसुवा |
त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक |
पूर्ण अवरुद्ध |
|
रुकुम पश्चिम |
जाजरकोट–डोल्पा (भेरी करिडोर) |
पूर्ण अवरुद्ध |
|
रुकुम पूर्व |
मध्यपहाडी लोकमार्ग |
पूर्ण अवरुद्ध |
|
रोल्पा |
घोराही–थबाङ सहिद मार्ग |
दुई स्थानमा अवरुद्ध |
इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा हिलो जम्दा मेची राजमार्ग बन्द भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो–लिपिङ क्षेत्रमा सडक भासिँदा अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ।
त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक बन्द भएको छ भने रुकुम पश्चिम र रुकुम पूर्वमा पहिरोले भेरी करिडोर र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएका छन्।
यी सडकमा राति सवारी सञ्चालन बन्द
सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै प्रहरीले दुई प्रमुख सडकमा निश्चित समयका लागि रात्रीकालीन आवागमन रोक लगाएको छ।
-
बीपी राजमार्ग (खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी): साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सबै सवारी बन्द
-
कान्ति लोकपथ (मकवानपुर): अपराह्न ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सबै सवारी बन्द
यात्रा अघि सडक अवस्था बुझ्न आग्रह
प्रहरीले वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा सडक कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्न र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।


















