काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

भोटो जात्रासँगै समापन हुँदै १६ सय वर्ष पुरानो रातो मच्छिन्द्रनाथ रथयात्रा, जावलाखेलमा अन्तिम तयारी पूरा

राष्ट्र प्रमुखको उपस्थितिमा शनिबार भोटो प्रदर्शन गरिने, हजारौँ भक्तजन र दर्शकको सहभागिता रहने अपेक्षा

572
shares

ललितपुर, ५ असार । नेपालको सबैभन्दा लामो तथा ऐतिहासिक सांस्कृतिक धार्मिक पर्व मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार जावलाखेलमा भोटो प्रदर्शनसँगै औपचारिक रूपमा सम्पन्न हुने भएको छ। करिब १६ सय वर्ष पुरानो परम्पराअनुसार राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाउने कार्यक्रम आयोजना गरिने तयारी अन्तिम चरणमा पुगेको छ।

ललितपुर महानगरपालिका ४ का वडाध्यक्ष सन्तोष खड्काका अनुसार जावलाखेलस्थित ललित मण्डपमा भोटो जात्राको सम्पूर्ण तयारी लगभग पूरा भइसकेको छ। प्रत्येक वर्षझैँ यस वर्ष पनि सर्वसाधारणदेखि विशिष्ट अतिथिसम्मलाई भोटो प्रदर्शन गरिनेछ।

वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको रातो मच्छिन्द्रनाथको रथयात्रा पुल्चोक, मङ्गलबजार, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेल पुगेको थियो। परम्पराअनुसार रथ जावलाखेल पुगेको चौथो दिन भोटो देखाउने प्रचलन रहेको छ।

संस्कृतिविद्हरूका अनुसार वर्षा, कृषि र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको जात्रा नेपालकै प्राचीन सांस्कृतिक सम्पदामध्ये एक हो। यसले धार्मिक आस्था मात्र नभई काठमाडौं उपत्यकाको सभ्यता, संस्कृति र सामुदायिक एकताको प्रतीकका रूपमा पनि विशेष महत्व राख्छ।

राजतन्त्रकालमा राजा स्वयं उपस्थित भएर अवलोकन गर्ने भोटो जात्रा गणतन्त्र स्थापनापछि राष्ट्रपतिले निरन्तरता दिँदै आएका छन्। यही कारणले पनि भोटो जात्रालाई राष्ट्रिय महत्वको सांस्कृतिक समारोहका रूपमा हेरिन्छ।

भोटो प्रदर्शन सम्पन्न भएपछि रातो मच्छिन्द्रनाथको मूर्तिलाई परम्परागत कलात्मक खटमा राखी बाजागाजासहित जावलाखेलबाट बुङ्मतीस्थित मच्छिन्द्रबहाल लगिनेछ। त्यसपछि यस वर्षको जात्रा औपचारिक रूपमा समापन हुनेछ।

वडाध्यक्ष खड्काले यस वर्षको रथयात्रा शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको बताउँदै भोटो जात्रामा सहभागी हुने भक्तजन तथा दर्शकलाई सुरक्षा व्यवस्थामा सहयोग गर्न आग्रह गरेका छन्। साथै जावलाखेल क्षेत्रमा फुटपाथ व्यापार नगर्न सम्बन्धित सबै पक्षलाई अनुरोध गरिएको छ।