अबुधाबी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) पुगेका छन् ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

नेपालमादेशभर शक्तिशाली वर्षा प्रणाली सक्रिय, काठमाडौँसहित विभिन्न क्षेत्रमा हुरी र चट्याङको जोखिम

सुदूरपश्चिमबाट पूर्वतिर सर्दै गरेको मौसम प्रणालीको प्रभाव; बागमती, मधेस र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

1.08K
shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबतास, चट्याङ र भारी वर्षा गराउने शक्तिशाली मौसम प्रणाली सुदूरपश्चिमबाट पूर्वतिर सर्दै गरेको जनाएको छ । उक्त प्रणालीको प्रभावले काठमाडौँ उपत्यकासहित बागमती र मधेस प्रदेशका अधिकांश क्षेत्रमा वर्षा सुरु भइसकेको विभागले जानकारी दिएको छ ।

मौसमविद् सञ्जिव अधिकारीका अनुसार सुदूरपश्चिमबाट सुरु भएको वर्षा प्रणाली लुम्बिनी हुँदै बागमती र मधेस प्रदेशसम्म फैलिएको छ । उनका अनुसार केही स्थानमा हुरीबतासको गति प्रतिघण्टा करिब ४० किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

विभागले केही क्षेत्रमा हुरी र वर्षाको प्रभाव करिब दुई घण्टासम्म रहन सक्ने जनाएको छ । आज विशेषगरी भारी वर्षाको सम्भावना रहे पनि साँझपछि वर्षा केही कम हुने अनुमान गरिएको छ । यद्यपि साताभर नै मौसम प्रणाली सक्रिय रहने विभागको पूर्वानुमान छ ।

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको छ । साथै, नेपालको दक्षिणी भू-भाग हुँदै पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखाले पनि मौसममा प्रभाव पारिरहेको विभागले जनाएको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ । मङ्गलबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।बुधबार पनि पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा जारी रहने अनुमान गरिएको छ ।

हुरीबतास,चट्याङ र सम्भावित भारी वर्षाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि विभागले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।