नयाँ दिल्ली । भारतले लिपुलेक पासलाई कैलाश मानसरोवर यात्राको ऐतिहासिक तथा स्थापित मार्ग भएको...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

लिपुलेकबारे भारतको स्पष्ट सन्देशः नेपालको दाबी अस्वीकार्य

भारतले लिपुलेकलाई कैलाश मानसरोवर यात्राको दशकौँ पुरानो मार्ग दाबी गर्दै सीमा विवाद संवादबाट समाधान गर्न तयार रहेको बतायो

416
shares

नयाँ दिल्ली । भारतले लिपुलेक पासलाई कैलाश मानसरोवर यात्राको ऐतिहासिक तथा स्थापित मार्ग भएको दाबी गर्दै नेपालले उठाउँदै आएको सीमासम्बन्धी प्रश्नलाई अस्वीकार गरेको छ।नेपालको परराष्ट्र मन्त्रालयले हालै सार्वजनिक गरेको धारणा सम्बन्धी सञ्चारकर्मीको प्रश्नमा प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भारतको अडान पहिलेदेखि नै स्पष्ट र निरन्तर रहेको बताएका हुन्।

जैसवालका अनुसार लिपुलेक मार्ग सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको छ र दशकौँदेखि तीर्थयात्रीहरूले यही मार्ग प्रयोग गरिरहेका छन्। उनले यसलाई “कुनै नयाँ विकासक्रम नभएको” उल्लेख गर्दै भारतले यस विषयलाई ऐतिहासिक अभ्यासकै निरन्तरताका रूपमा हेरेको बताए।भारतीय पक्षले नेपालको दाबीलाई ऐतिहासिक तथ्य, प्रमाण तथा स्थापित अभ्याससँग मेल नखाने जिकिर पनि गरेको छ। भारतको भनाइमा एकपक्षीय रूपमा गरिएका क्षेत्रीय दाबीहरू दीगो समाधानको आधार बन्न सक्दैनन्।

यद्यपि भारतले नेपालसँगको सम्बन्धलाई महत्व दिँदै बाँकी रहेका सीमा विवादहरू संवाद र कूटनीतिक माध्यमबाट समाधान गर्न आफू खुला रहेको जनाएको छ। भारतीय विदेश मन्त्रालयले दुई देशबीचका संवेदनशील विषयहरू आपसी समझदारी र वार्ताबाट समाधान गर्न सकिने विश्वास व्यक्त गरेको छ।नेपाल र भारतबीच लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई लिएर लामो समयदेखि सीमा विवाद कायम छ। नेपालले यी क्षेत्र आफ्नो भूभागभित्र पर्ने दाबी गर्दै आएको छ भने भारतले प्रशासनिक तथा ऐतिहासिक आधार प्रस्तुत गर्दै आफ्नो नियन्त्रण कायम राखेको छ।

विशेषतः भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको मार्ग सञ्चालन तथा पूर्वाधार विस्तार गरेपछि नेपालले पटक पटक आपत्ति जनाउँदै आएको छ।यस विषयले दुई देशबीच समय समयमा कूटनीतिक तनाव समेत उत्पन्न गर्दै आएको छ।