काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सिद्धान्त र मूल्य–मान्यतामा सम्झौता गरेर सरकारमा सहभागी...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन

निर्वाचनको शान्ति सुरक्षा सुनिश्चित गर्न नेपाली सेना देशभर सहायक भूमिकामा खटाइने

832
shares

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन आजदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय एकीकृत रूपमा परिचालित भएका छन्। सरकारले यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको छ। निर्वाचन हुन २९ दिन बाँकी रहँदा सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजनाअनुसार आगामी २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग परिचालन गरिएको हो।

एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ समेत सुरक्षामा खटिने छन्। मतदानस्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले गर्नेछन् भने दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ। सशस्त्र प्रहरीले नेपाल प्रहरी र नेपाली सेनासँग समन्वयमा काम गर्नेछ।नेपाली सेना भने बाहिरी सुरक्षा घेरामा रही निर्वाचन सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नेछ। निर्वाचन प्रयोजनका लागि सेना आजदेखि १६५ वटै निर्वाचन क्षेत्रमा परिचालित भइसकेको सेनाले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गत ११ मंसिरमा प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका थिए।

निर्वाचन सुरक्षालाई केन्द्रित गरी आवश्यकताअनुसार सेनाका ‘वेस’ स्थापना गरिने तथा संयुक्त गस्ती सञ्चालन हुने सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिए। उनका अनुसार निर्वाचनका लागि करिब ८० हजार सैनिक जनशक्ति परिचालन गर्ने तयारी गरिएको छ।एकीकृत सुरक्षा योजनाले मार्गदर्शन गरेअनुसार निर्वाचनको एक महिना अघिबाट सेना फिल्डमा परिचालित भएको हो। निर्वाचनका क्रममा सेनाले तीन चरणमा सुरक्षा प्रदान गर्नेछ। निर्वाचनपूर्व मतपत्र छपाइ, ढुवानी, मतदानस्थल सुरक्षा, मतपेटिका ढुवानी र मतगणनास्थल सुरक्षासम्मको जिम्मेवारी सेनाले सम्हाल्नेछ। साथै, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको सहकार्यमा विमानस्थल, कारागारलगायत संवेदनशील संरचनाको सुरक्षा पनि सेनाले गर्नेछ।

मतदानका समयमा नेपाली सेना तेस्रो सुरक्षा घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता तथा निर्वाचनमा खटिएका कर्मचारीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउनेछ।आसन्न निर्वाचनमा कुल ३ हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचन आयोगले यही ४ माघदेखि निर्वाचन आचारसंहिता लागू गरिसकेको छ। यसपटक ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य गरी कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम रहेका छन्।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। नेपाल प्रहरीका तर्फबाट ७७ हजार जनशक्ति परिचालित हुनेछन्। विद्यमान जनशक्तिले अपुग भएपछि थप एक लाख ३३ हजार ‘निर्वाचन प्रहरी’ भर्ना गरिएको छ।सुरक्षा दृष्टिले २ हजार ८४५ मतदानस्थललाई सामान्य, ४ हजार ४४२ लाई संवेदनशील र ३ हजार ६८० मतदानस्थललाई अति संवेदनशील वर्गीकरण गरिएको छ। सोहीअनुसार नियमित प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपालबाट ३४ हजार ५७६ जना र १५ हजार ११० निर्वाचन प्रहरी गरी कुल ४९ हजार ६८६ जनशक्ति परिचालित छन्। निर्वाचन अवधिमा कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाइएको र आपतकालीन अवस्थामा १० मिनेटभित्र घटनास्थलमा पुग्ने व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ।