काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

निर्वाचन आचारसंहिता उल्लङ्घनमा आयोगले सोध्यो, २१ जनासँग स्पष्टीकरण

फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा मिथ्या, भ्रमपूर्ण र घृणास्पद अभिव्यक्तिमाथि कडा निगरानी, ३०२ सामग्री कारबाहीका लागि सिफारिस

1.79K
shares

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन नियन्त्रणका लागि गतिविधि तीव्र बनाएको छ । आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनलाई मध्यनजर गर्दै आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याइसकेको छ ।

आचारसंहिताको पूर्ण र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आयोगले राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, संस्था तथा सरोकारवाला सबै पक्षलाई निरन्तर ध्यानाकर्षण गराउँदै आएको जनाएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी तथा सूचनाका आधारमा हालसम्म राजनीतिक दल, उम्मेदवार र विभिन्न संस्था गरी २१ जनासँग स्पष्टीकरण सोधिएको आयोगले जानकारी दिएको छ ।आयोगका अनुसार सोधिएका स्पष्टीकरणमध्ये हालसम्म पाँच वटाको मात्र जवाफ प्राप्त भएको छ भने बाँकी स्पष्टीकरणका लागि सम्बन्धित पक्षलाई ताकेता भइरहेको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी मिथ्या, भ्रमपूर्ण तथा घृणास्पद अभिव्यक्ति दिने गतिविधिको निगरानीलाई थप कडा बनाइएको आयोगले जनाएको छ । साथै गैरकानूनी गतिविधिमा संलग्न व्यक्ति वा संस्थालाई नियामक निकायसँगको समन्वयमा कानूनी दायरामा ल्याउन पहल भइरहेको पनि आयोगको भनाइ छ ।आयोगअन्तर्गत स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रभित्रको सूचना सदाचार प्रवद्र्धन इकाइ पूर्ण रूपमा क्रियाशील रहेको आयोगले स्पष्ट पारेको छ । सो इकाइले हालसम्म पहिचान गरेका कूल ३०२ हानिकारक सूचना निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय कारोबार ऐन, २०६३ तथा प्रेस काउन्सिल ऐन, २०४८ अनुसार कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।निर्वाचनको मर्यादा र स्वच्छतामा असर पार्ने कुनै पनि गतिविधि भएमा आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय र जिल्ला आचारसंहिता अनुगमन अधिकृतसमक्ष लिखित, मौखिक वा विद्युतीय माध्यमबाट उजुरी दिन सकिने व्यवस्था रहेको आयोगले जनाएको छ ।

निर्वाचन हुन अब ३३ दिन मात्र बाँकी रहँदा आयोगले आचारसंहिता पालना गर्न सबै पक्षलाई थप जिम्मेवार र संवेदनशील हुन आग्रह गरेको छ ।