काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

सर्लाही–४ बाट गगन थापाको सन्देश: कांग्रेस अब परिणाम दिने पार्टी

आगामी कार्यकालमा विगतका गल्ती नदोहोऱ्याइने र जनताले अनुभूति गर्ने खालका परिवर्तन ल्याइने

1.57K
shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले आफ्नो ऐतिहासिक विरासतका सकारात्मक मूल्यहरूलाई निरन्तरता दिँदै विगतका कमजोरी र त्रुटिहरूबाट अघि बढेको बताएका छन्। सर्लाही–४ मा शुक्रबार आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै उनले वर्तमान कांग्रेसलाई “परम्परासँग जोडिएको तर परिवर्तनमुखी” राजनीतिक शक्ति भएको उल्लेख गरे।

सभापति थापाका अनुसार कांग्रेसको इतिहासलाई सम्पूर्ण रूपमा नकार्ने दृष्टिकोण यथार्थपरक हुँदैन। उनले भने,हिजोका सबै कुरा खराब हुँदैनन्।यदि त्यस्तो हुन्थ्यो भने हाम्रो संस्कृति, परम्परा, आस्था र पितापुर्खाको योगदान पनि नकारिन्थ्यो। हामीलाई हाम्रा राम्रा मूल्यहरूमा गर्व छ त्यही हाम्रो पहिचान हो।

उनले पार्टीले विगतका सकारात्मक अभ्यास, लोकतान्त्रिक मूल्य र सामाजिक सहिष्णुतालाई निरन्तरता दिएको र कमजोरी, अक्षमता तथा गलत अभ्यासलाई भने सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।हिजोका कमजोरी छाड्दै नयाँ समयका नयाँ आवश्यकतालाई आत्मसात् गर्ने हो, उनले बताए।

कार्यक्रममा उनले कांग्रेसले आगामी पाँच वर्षका लागि स्पष्ट योजना, दीर्घकालीन सोच र नतिजामुखी कार्यसूची तय गरेको उल्लेख गरे। उनका अनुसार पार्टीको प्राथमिकतामा सुशासन, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहको सुधार तथा वर्षौँदेखि अधुरा रहेका कामहरू पूरा गर्ने विषय रहेका छन्।

सभापति थापाले आगामी कार्यकालमा विगतका गल्ती नदोहोऱ्याइने र जनताले अनुभूति गर्ने खालका परिवर्तन ल्याइने विश्वास व्यक्त गरे। भ्रष्टाचार र कुशासन अन्त्य गर्दै लामो समयदेखि प्रतीक्षामा रहेका विकास तथा सुधारका एजेन्डालाई कार्यान्वयनमा लैजाने उनले बताए।