चुनाव नजिकिँदै,आयात होइन स्वदेशी सामग्री प्रयोग गर्ने आयोगको नीति
निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन ५१ सामग्रीमध्ये ३७ प्रदेश–जिल्लाबाट खरिद, ६ करोड ७५ लाखको मात्र नयाँ सामग्री खरिद
वि.सं.२०८२ माघ १५ बिहीवार १०:२६
shares

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन हुन अब ३५ दिन मात्र बाँकी रहँदा निर्वाचन आयोगले निर्वाचनलाई मितव्ययी, पारदर्शी र स्वदेशी उत्पादनमैत्री बनाउने उद्देश्यसहित सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने नीति अवलम्बन गरेको छ।स्थानीय उत्पादनको प्रयोग तथा प्रोत्साहन गर्दै निर्वाचन खर्च घटाउने लक्ष्यसहित आयोगले यो नीति लिएको हो। आयोगका अनुसार निर्वाचन प्रक्रियामा प्रयोग हुने सामग्रीमध्ये धेरैजसो स्वदेशमै उत्पादन भएका सामग्री प्रयोग गरिनेछ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएअनुसार निर्वाचनका लागि कुल ५१ प्रकारका सामग्री प्रयोग हुनेछन्। तीमध्ये ३७ प्रकारका सामग्री प्रदेश र जिल्लास्तरबाट विकेन्द्रीकृत रूपमा खरिद गरी प्रयोग गर्ने व्यवस्था मिलाइएको छ। यसले स्थानीय बजारलाई समेत प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।केन्द्रस्तरबाट भने १४ प्रकारका सामग्री खरिद गरिनेछ, जसमा अधिकांश सामग्री ‘जिटुजी (Government to Government)’ अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीमार्फत खरिद गरिने व्यवस्था गरिएको छ। यसले खरिद प्रक्रिया सरल, पारदर्शी र समयमै सम्पन्न गर्न सहयोग पुग्ने आयोगको विश्वास छ।
प्रवक्ता भट्टराईका अनुसार निर्वाचनका लागि केवल ६ करोड ७५ लाख रुपैयाँ बराबरको नयाँ सामग्री खरिद गरिएको छ, जबकि आवश्यक पर्ने अन्य सामग्री आयोगसँग मौज्दात (स्टक) रहेका पुरानै सामग्रीलाई पुनः प्रयोगमा ल्याइनेछ। यसले निर्वाचन खर्चमा उल्लेख्य बचत हुने अनुमान गरिएको छ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक प्रशासनिक तथा कानुनी प्रक्रिया पनि तीव्र गतिमा अघि बढिरहेको आयोगले जनाएको छ। हालसम्म उम्मेदवारी मनोनयनपत्र दर्ता, दाबी–विरोध र निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम सम्पन्न भइसकेको छ।निर्वाचन आयोगले बाँकी अवधिमा मतदान सामग्री व्यवस्थापन, कर्मचारी परिचालन, सुरक्षा समन्वय तथा मतदाता शिक्षा कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराउने तयारी तीव्र पारेको जनाएको छ।

















