मधेसको चुनावी कमाण्ड आफैँ सम्हाल्न गगन थापा सर्लाही जाँदै
मधेस केन्द्रित रणनीतिसहित मतदाता भेटघाट र संगठन सुदृढीकरणमा जोड
वि.सं.२०८२ माघ १२ सोमवार १०:०७
shares
फाइल तस्वीर
काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा चुनावी कमाण्ड आफैँ सम्हाल्न मधेस झर्ने तयारीमा छन्। पार्टी नेतृत्व सम्हालेपछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ केन्द्रित सक्रिय भूमिकामा देखिन लागेका थापा आज सर्लाही प्रस्थान गर्दैछन्।
सभापति थापा आज बिहान १०:३० बजेको उडानमार्फत काठमाडौँबाट सिमारा जाने कार्यक्रम छ। सिमारा विमानस्थलमा कांग्रेसका जिल्ला तथा क्षेत्रीय नेता, कार्यकर्ता, भ्रातृ संगठनका प्रतिनिधि र समर्थकहरूको बाक्लो उपस्थिति रहने तयारी गरिएको छ। विमानस्थलबाट उनी सडकमार्ग हुँदै सर्लाही पुग्नेछन्, जहाँ दिनभर राजनीतिक भेटघाट र संगठनात्मक छलफलमा व्यस्त रहने कार्यतालिका छ।
विशेष महाधिवेशनबाट पार्टी सभापति निर्वाचित भएपछि र सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यका रूपमा उम्मेदवारी दर्ता गराएपछि थापाको यो भ्रमणलाई राजनीतिक वृत्तले निकै चासोका साथ हेरिरहेको छ। लामो समय काठमाडौँ–४ को सुरक्षित राजनीतिक आधारमा सक्रिय रहेका थापाले त्यो ‘सेफ जोन’ छाडेर मधेसको चुनावी मैदान रोज्नु कांग्रेसको रणनीतिक सन्देशका रूपमा व्याख्या गरिएको छ।
सर्लाही बसाइका क्रममा सभापति थापाले स्थानीय तहका नेता–कार्यकर्तासँग छुट्टाछुट्टै बैठक गर्ने, संगठनको अवस्था मूल्याङ्कन गर्ने र चुनावी रणनीतिलाई अन्तिम रूप दिने तयारी छ। साथै, उनी मतदातासँग प्रत्यक्ष संवादमा उत्रिँदै मधेसका प्रमुख मुद्दा रोजगारी, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास बारे पार्टीको धारणा स्पष्ट गर्नेछन्।
कांग्रेस नेतृत्वको विश्वास छ, सभापति थापाको प्रत्यक्ष उपस्थितिले सर्लाही–४ मा मात्रै होइन, समग्र मधेस प्रदेशमा पार्टीको चुनावी माहोललाई थप ऊर्जा दिनेछ। कार्यकर्तामा नयाँ उत्साह, संगठनमा सक्रियता र प्रतिस्पर्धी दलमाथि मनोवैज्ञानिक दबाब सिर्जना हुने अपेक्षा गरिएको छ।
चुनावी घडी नजिकिँदै गर्दा गगन थापाको यो मधेस यात्रा कांग्रेसका लागि केवल क्षेत्रीय भ्रमण मात्र नभई, नेतृत्वको राजनीतिक साहस र रणनीतिक दाउका रूपमा हेरिन थालेको छ।

















