विशेष महाधिवेशन निर्णायक मोडमा, आजबाट कांग्रेसको नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्दै
वि.सं.२०८२ पुस ३० बुधवार ०८:५९
shares

काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन निर्णायक चरणमा प्रवेश गरेको छ । नेतृत्व चयनसँग सम्बन्धित निर्वाचन प्रक्रिया आज बिहान ८ बजेदेखि औपचारिक रूपमा सुरु हुँदैछ ।
निर्वाचन समितिले गएराति ९ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको भए पनि मनोनयन दर्ताको प्रक्रिया मात्र अघि बढाएर मतदान आजका लागि सारेको थियो । समितिका अनुसार निर्धारित प्रक्रिया अनुसार आज बिहानदेखि पुनः निर्वाचन कार्यतालिका कार्यान्वयनमा ल्याइनेछ ।यसअघि मंगलबार सम्पन्न बन्दसत्रले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका विधान संशोधन तथा राजनीतिक प्रस्तावलाई सुझावसहित सर्वसम्मत रूपमा पारित गरेको थियो । यससँगै पार्टीको भावी दिशा र संगठनात्मक संरचनाबारे सहमति जुटाउँदै महाधिवेशनले नेतृत्व चयनतर्फ ध्यान केन्द्रित गरेको हो ।
बन्दसत्रले गठन गरेको पाँच सदस्यीय निर्वाचन समितिले सम्पूर्ण निर्वाचन प्रक्रिया व्यवस्थापन गरिरहेको छ । वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा गठित समितिमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेका छन् ।
आजको निर्वाचन प्रक्रियासँगै नेपाली काँग्रेसमा नयाँ नेतृत्व चयन हुने अपेक्षा गरिएको छ, जसले पार्टीको आगामी राजनीतिक यात्रालाई निर्णायक रूपमा प्रभावित गर्नेछ ।

















