जनशक्ति, पुँजी र विश्वासको पलायन: ज्ञानेन्द्र शाहको सन्देशले उठाएका प्रश्नहरू
वि.सं.२०८२ पुस २७ आइतवार ०८:३९
shares

पूर्वराजा ज्ञानेन्द्र शाहले ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शनिबार भिडियो सन्देश जारी गर्दै नेपालको वर्तमान अवस्था, भविष्य र भूराजनीतिक चुनौतीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। देशको संवेदनशील अवस्था र बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई सही ढंगले बुझ्न नसक्दा नेपालले मित्रराष्ट्रहरूको विश्वास र भरोसा गुमाउने अवस्थामा पुगेको उनको ठहर छ।
सन्देशको सुरुवातमा उनले नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय एकता दिवसको महत्व स्मरण गराएका छन्। पृथ्वीनारायण शाहलाई “चार वर्ण, छत्तिस जातको साझा फूलबारी” को अवधारणामार्फत आधुनिक नेपालको जग बसाल्ने व्यक्तित्वका रूपमा उल्लेख गर्दै उनले राष्ट्रिय एकता, समन्वय र साझा स्वामित्वको भावनालाई आज पनि आत्मसात् गर्नुपर्ने बताएका छन्।
ज्ञानेन्द्र शाहले शाहवंशीय राजसंस्थाले सबै जात, धर्म र क्षेत्रका नेपालीलाई समेटेर राष्ट्र एकीकरण गरेको इतिहास स्मरण गराउँदै नेपाली जनताको सुख, समृद्धि र एकतालाई केन्द्रमा राख्ने परम्परा रहेको दाबी गरेका छन्। करिब दुई दशकअघि राजनीतिक दलहरूको आग्रहअनुसार शान्ति, स्थायित्व र विकासको आशामा राजसंस्था जनताको नासो जनताकै हातमा सुम्पेर आफू राजकाजबाट अलग बसेको उल्लेख गर्दै उनले त्यसलाई कमजोरी वा दायित्वबाट पलायनका रूपमा व्याख्या गर्न नहुने बताएका छन्।
तर, राजदरबार छोडेको यति लामो समय बितिसक्दा पनि देशले निरन्तर संकट भोगिरहनुपरेको अवस्थाले आफूलाई चिन्तित बनाएको उनले बताएका छन्। “हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ,” भन्ने अभिव्यक्तिले वर्तमान अवस्थाप्रति उनको गहिरो असन्तोष झल्किन्छ।
उनले देशबाट युवाशक्ति पलायन हुँदै जानु भविष्यप्रतिको निराशाको संकेत भएको र पछिल्लो समय पुँजी, पुँजीपति तथा कर्मशील उद्यमीसमेत विदेशिने क्रम बढ्नु झन् गम्भीर खतरा भएको बताएका छन्। यो प्रवृत्ति रोक्न नसकिए देश असफलताको संघारमा पुग्न सक्ने चेतावनी दिँदै पृथ्वीनारायण शाहको “जनता सक्षम र बलिया भए मात्र देश बलियो हुन्छ” भन्ने दिव्य उपदेश स्मरण गराएका छन्।
सन्देशमा युवापुस्ताको भावना, चाहना र आवश्यकतालाई सम्बोधन गर्न नसक्दा असन्तोष र विद्रोह जन्मिन सक्ने यथार्थप्रति पनि उनले नेतृत्वलाई सचेत गराएका छन्। युवालाई प्रयोग मात्र गर्ने तर उनीहरूको भविष्यप्रति गम्भीर नहुने प्रवृत्तिका कारण देशले ठूलो जनधनको क्षति बेहोर्नुपरेको उनको भनाइ छ। भ्रष्टाचारप्रति युवामा बढ्दो असहिष्णुता र सूचना प्रविधिमा देखिएको प्रतिस्पर्धात्मक उत्साहलाई सकारात्मक संकेत ठहर गर्दै उनले राजनीतिक असफलताले त्यो सम्भावनालाई सपना मात्र बनाइदिन सक्ने चेतावनी दिएका छन्।
विदेश नीतिका सन्दर्भमा पूर्वराजा शाहले असन्तुलित परराष्ट्र नीति र व्यवहारका कारण राष्ट्रिय हितमा गम्भीर असर परेको उल्लेख गरेका छन्। नेपालजस्तो संवेदनशील देशले कुनै सुरक्षा गठबन्धनभन्दा शान्तिको कवचलाई आफ्नो वास्तविक सुरक्षा आधार बनाउनुपर्ने धारणा उनले राखेका छन्। बदलिँदो भूराजनीतिक परिवेशमा पृथ्वीनारायण शाहका दिव्य उपदेश र बौद्धिक दृष्टिकोण अझ सान्दर्भिक बन्दै गएको उनको भनाइ छ।
अन्त्यमा, उनले पृथ्वीपथले वकालत गरेको राष्ट्रिय स्वतन्त्रता, भ्रष्टाचारविरुद्ध कठोर दृष्टिकोण र शान्तिक्षेत्र नेपालको अवधारणालाई साझा मार्गचित्रका रूपमा अघि बढाउन आह्वान गरेका छन्। जनता र राजाले मिलेर निर्माण गरेको नेपाल राष्ट्रको समग्र हितलाई आत्मसाथ गर्दै सबल र आत्मनिर्भर राष्ट्र निर्माणमा सबै नेपाली एकजुट हुनुपर्ने उनको आग्रह छ। “सबै मिलेर अघि बढौँ र नेपाललाई फेरि उठाऔँ,” भन्दै उनले सन्देशको अन्त्य गरेका छन्।











