काठमाडौं । मध्यपूर्वमा बढ्दो युद्ध र समुद्री मार्गमा आक्रमणका कारण विश्व बजारमा कच्चा तेलको...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

आजदेखि सोह्र श्राद्ध आरम्भ, पितृ तर्पण गरिँदै

सोह्रश्राद्धलाई वैदिक सनातन परम्परामा विशेष स्थान दिइएको छ, चाडपर्व वा ठूला कार्य गर्नु अघि पितृलाई तृप्त पार्न श्राद्ध गर्नुपर्ने मान्यता छ ।

1.64K
shares

काठमाडौँ, २३ भदौ ।

हिन्दू वैदिक परम्पराअनुसार आजदेखि पितृ पक्ष अर्थात् सोह्र श्राद्धको आरम्भ भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने यो श्राद्ध पक्ष आश्विन शुक्ल प्रतिपदासम्म चल्ने गर्छ । यस अवधिमा दिवङ्गत पितृको स्मरण गर्दै तर्पण, सिदादान र पिण्डदान गर्ने परम्परा छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार प्रतिपदा तिथिको पिण्डदान अपराह्नकालमै गर्नुपर्ने मान्यता छ । अपर, प्रेत पक्षका नामले पनि चिनिने यस अवधिमा पितृले आशा गरी बस्ने शास्त्रीय विश्वास छ ।

सोह्रश्राद्धलाई वैदिक सनातन परम्परामा विशेष स्थान दिइएको छ । चाडपर्व वा ठूला कार्य गर्नु अघि पितृलाई तृप्त पार्न श्राद्ध गर्नुपर्ने मान्यता छ । धर्मशास्त्रविद्हरूका अनुसार यसरी श्राद्ध गर्नाले पितृऋणबाट मुक्ति मिल्ने मात्र नभई पितृ तृप्त भई वंशजलाई आशीर्वाद दिने धार्मिक विश्वास रहँदै आएको छ ।शास्त्रमा उल्लेख भएअनुसार जाताशौच, मृताशौच वा पत्नी रजस्वला भएका अवस्थामा बाहेक श्राद्ध नगर्नु अक्षम्य दोष ठहर्छ ।

कुनै कारणवश पितृ तिथिमा श्राद्ध गर्न नसकिएमा आश्विन कृष्ण औँसीदेखि शुक्ल पञ्चमीसम्म गर्ने प्रावधान छ । अझै सम्भव नभए कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन, वा वृश्चिक सङ्क्रान्तिसम्म पनि श्राद्ध गर्न सकिने धर्मसिन्धु आदिमा उल्लेख छ । त्यस्तै, आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी, औँसी, भरणी नक्षत्र वा व्यतीपात योग परेका जुनसुकै दिन पनि श्राद्ध गर्ने विकल्प दिइएको छ । यदि सोह्रश्राद्ध कुनै कारणवश सम्पूर्णरूपमा गर्नै नसकिने भए ब्राह्मणमार्फत् दैनिक १० महिनासम्म एक सय आठ मन्त्र जप गराउन सकिने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद्हरू बताउँछन् ।

धार्मिक परम्पराअनुसार बिहानै श्राद्ध गर्नु शास्त्रसम्मत मानिँदैन । पुरोहितहरूका अनुसार पितृको तिथि परेका दिन अपराह्नकाल पारेर मात्र श्राद्ध गर्नुपर्ने नियम छ । पितृ पक्ष समाप्त भएपछि दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ । त्यसैले बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने परम्परा स्थापित भएको हो । हिन्दू समाजमा ठूला पर्वहरू अघि पितृलाई सम्झेर श्राद्ध गर्ने वैदिक सनातनी मान्यता पीढीदेखि पीढीमा निरन्तर चल्दै आएको छ ।