भक्तपुरमा परम्परागत इन्द्रजात्रा सुरु, आठ दिनसम्म धुमधाम
वि.सं.२०८२ भदौ १९ बिहीवार ०९:३४
shares
फाईल तस्वीर
भक्तपुर, १९ भदौ ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन टोलटोलमा इन्द्रको प्रतीकस्वरुप यमःद्यो ठड्याएर यो जात्रा सुरु गर्ने परम्परा छ।
स्थानीय गुठी व्यवस्थापनमा आठ दिनसम्म चल्ने यो जात्रामा सलाँ गणेश, छुमा गणेश, इन्द्रायणी देवी, भैरव, याँमता (आकाश दीप), मुपात्र तथा पुलुकिसीका जात्रा मनाइने गर्छन्। जात्राको पहिलो दिन नगरका विभिन्न स्थान — इताछें, तेखापुखुः, मुलाखः, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमा, गःहीटी, महालक्ष्मीस्थान र चासुखेललगायतमा विधिवत् पूजाआजा गरी यमःद्यो ठड्याइन्छ। दोस्रो दिनलाई शून्य दिन मानिन्छ भने तेस्रो दिन खौमास्थित इन्द्रायणी देवीको खट जात्रा निकालिन्छ।
चौथो दिन, यन्या पुन्ही (पूर्णिमा) का अवसरमा प्राचीन तीर्थस्थल इन्द्रदहमा स्नान र पूजा गर्ने भक्तजनको ठूलो घुइँचो लाग्छ। जनविश्वास अनुसार यस दिन स्नान र पूजाआजाले पुण्य प्राप्ति तथा पारिवारिक सुख–समृद्धि मिल्छ।
छैटौँ दिनदेखि लगातार तीन दिनसम्म याँमता (आकाश दीप) र मुपात्र जात्रा मनाइन्छ। याँमता त्रिशूल आकारमा बनाइने परम्परागत दीप हो भने मुपात्रलाई राक्षसको भेषमा शहर परिक्रमा गराइन्छ।
अन्तिम दिन तल्लो टोलबाट याँमता निकालिन्छ। त्यसै दिन तमारीस्थित भैरवको खट जात्रा र पुलुकिसी जात्रा पनि गरिन्छ। ऐरावत हात्तीको प्रतीक मानिने पुलुकिसीलाई नगर परिक्रमा गराउने, धान खुवाउने, इनारमा पानी खुवाउने र डबलीमा आगो तपाउने परम्परा छ। पुलुकिसीको सुँढले छोएमा दशा लाग्छ भन्ने विश्वासले मानिस टाढै भाग्ने गर्छन्।
संस्कृतिविद्हरूका अनुसार, भक्तपुरको इन्द्रजात्रा देशमा सुख, शान्ति र समृद्धिको कामना गर्ने मात्र नभई चोरी जुनसुकै किसिमको होस्, त्यो अपराध नै हो भन्ने सन्देशसमेत बोकेको छ।

















