आज हरितालिका तीज : सांस्कृतिक परम्परा र सामाजिक सन्देश
देशभरका हिन्दु महिलाहरूले महादेवको पूजाआराधना र नाचगान गरी मनाइँरहेका छन्
वि.सं.२०८२ भदौ १० मंगलवार ०८:२३
shares

काठमाडौँ, १० भदौ ।
आज देशभरका हिन्दु महिलाहरूले हरितालिका तीज पर्व उल्लासका साथ मनाइरहेका छन्। भाद्र शुक्ल तृतीयाका दिन पर्ने यो पर्व धार्मिक श्रद्धा, सांस्कृतिक परम्परा र सामाजिक सन्देशका कारण विशेष मानिन्छ।यस दिन महिलाहरू निराहार वा फलाहार व्रत बसेर महादेवको पूजा–आराधना गर्छन्। विवाहित महिलाले पतिको दीर्घायु, अविवाहित महिलाले सुयोग्य वरको कामना गर्ने प्रचलन छ। यद्यपि शास्त्रीय दृष्टिले हेर्ने हो भने यो व्रत केवल महिलामात्र नभई पुरुषहरूले पनि लिनुपर्ने उल्लेख पाइन्छ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा कठोर तपस्या गरी महादेवलाई पति पाएकी थिइन्। पार्वतीलाई पिता हिमालयले विष्णुसँग विवाह गराउन खोजेपछि साथीहरूले उनलाई सुरक्षित स्थानमा लगेर निराहार व्रत बस्न सहयोग गरेका थिए। यही घटनाबाट “हरित” (हरण) र “आलिका” (साथी) शब्द मिलेर “हरितालिका” नाम बनेको मानिन्छ। यसरी तीज केवल धार्मिक अनुष्ठान मात्र नभई नारी एकताको प्रतीक पनि बनेको देखिन्छ।
पशुपतिनाथ लगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। भक्तजनहरूको सहजताका लागि पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको छ। उपत्यका मात्र नभई ग्रामीण भेगका शिवालयमा पनि महिलाहरू रातैदेखि भेला भई पूजा–अर्चनामा तल्लीन देखिन्छन्।हरितालिका व्रत निराहार (कुनै खानेकुरा नखाई), जलाहार (जल मात्र) वा फलाहार (फलफूल) गरेर बस्न सकिन्छ। तर स्वास्थ्यलाई ध्यानमा राख्दै व्रतीले आफूलाई अनुकूल विकल्प रोज्नुपर्ने धार्मिक सन्देश पनि छ। स्कन्धपुराणमा औषधि सेवन गर्दा व्रत भङ्ग नहुने उल्लेख पाइन्छ, जसले व्रतलाई केवल कठोर नियम होइन, स्वास्थ्यसँग सन्तुलित आस्था बनाउन सहयोग गर्छ।
आज तीज नारीहरूको साझा उत्सव मात्र नभई महिला आत्मबल, सहकार्य र अधिकारको अभिव्यक्ति पनि हो। एकातिर शिव–पार्वतीको कथाले व्रतलाई वैवाहिक सुदृढताको प्रतीक बनाउँछ भने अर्कोतिर साथीहरूको सहयोगी भूमिकाले सामूहिकतामा महिला शक्ति कस्तो हुन सक्छ भन्ने सन्देश दिन्छ। यसरी हरितालिका तीजलाई धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले हेर्दा यो केवल व्रत–पूजाको पर्व नभई महिलाहरूको अस्तित्व, आत्मबल र परम्पराको निरन्तरतासँग गाँसिएको महत्वपूर्ण दिनका रूपमा स्थापित भएको छ

















