नेपालगन्ज–दिल्ली हवाई सेवा सञ्चालनमा एकमत
वि.सं.२०८२ साउन २६ सोमवार १३:०५
shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणलाई लक्षित गर्दै नेपालगन्ज–दिल्ली सिधा हवाई उडान सञ्चालनका लागि चर्को माग गरिएको छ। नेपालगन्ज उद्योग वाणिज्य संघको पहलमा राजधानीमा आयोजित सर्वपक्षीय छलफलमा राजनीतिक दल, नागरिक समाज, व्यवसायी तथा पर्यटन क्षेत्रका प्रतिनिधिहरूले सिधा हवाई उडानका लागि सरकार संग उच्चस्तरीय पहल गर्न आह्वान गरे।

सन् २०१८ ताका नेपालगंज-दिल्ली सिधा उडानको प्रकृया लगभग सुरूभएको थियो र बुद्ध एअर ले पनि चासो देखाएको थियो तर भारतीय पक्षले ‘स्लट’ नदिएपछि केही समयमै प्रकृया स्थकित हुन पुगेको हो। त्यसयता बाँके–बर्दिया क्षेत्रका जनप्रतिनिधि र स्थानीय निकायहरूले निरन्तर पहल गरे पनि ठोस परिणाम आउन सकेको छैन। सहभागीहरूले प्रधानमन्त्री तहबाट प्रस्ताव भएमा मात्र भारतीय सहमति मिल्ने सम्भावना रहेको भन्दै तत्काल पहल गर्नुपर्नेमा जोड दिएका छन्।
धार्मिक एवं पर्यटकीय गन्तव्यका लागि भारतबाट आउने यात्रुहरूलाई सहज हुने, पश्चिम नेपालको आर्थिक क्रियाकलापमा वृद्धि हुने र दुवै देशलाई लाभ पुग्ने दाबी गर्दै, सहभागीहरूले सुरक्षा चिन्ता समाधान गर्ने प्रतिबद्धतासहित प्रधानमन्त्रीलाई आग्रह गरे।संघियसंसद सदस्यहरू सञ्जय गौतम, डा. धवलशमशेर राणा, शक्तिबहादुर बस्नेत, सूर्य ढकाल, दिपा शर्मा रुपाखेती, लक्ष्मी तिवारी, शान्ति चौधरी, शोभा ज्ञवाली, जावेदा खातुन, आशा विक, अब्दुल खान लगायतले उक्त प्रस्तावमा समर्थन जनाए। पूर्वमन्त्री महेश्वरजंग गहतराज, नेपालगन्ज उपमहानगर प्रमुख प्रशान्त विष्ट, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, पूर्व अध्यक्ष भवानी राणा, पर्यटन बोर्डका प्रमुख दीपकराज जोशी लगायतले पनि उक्त उडानले पश्चिम नेपालको पर्यटन, जडीबुटी, कृषि र ऊर्जा क्षेत्रमा ठुलो फड्को मार्ने धारणा राखे।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले यो प्रयास सफल बनाउन सबै पक्षको सहकार्य अपरिहार्य हुने बताए।

















