काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन निर्णायक चरणमा प्रवेश गरेको छ । नेतृत्व चयनसँग...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

सामाजिक सञ्जालको छायाँमा टुट्दै गरेका नेपाली परिवारहरू

1.44K
shares

तानसेन । पाल्पाको बगनासकाली गाउँपालिकाकी एक युवतीले २१ वर्षको उमेरमा अन्तरजातीय प्रेम विवाह गरिन् । तर, उनको वैवाहिक जीवन तीन वर्ष पनि टिक्न सकेन । एक सन्तानकी आमा बनिसकेकी ती युवतीमाथि श्रीमान् र सासु–ससुराले छिमेकीसँग लागेको आरोप लगाउन थालेपछि घरमा तनाव बढ्यो । आरोप असह्य बनेपछि उनले जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरिन् र अन्ततः अंश नलिई माइती घर फर्किइन् ।

यी उनी मात्रै होइनन्, पछिल्लो तीन वर्षमा पाल्पा जिल्ला अदालतमा मात्र १,३५६ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७९/८० मा ४४३, २०८०/८१ मा ४२८ र २०८१/८२ मा ४८५ मुद्दा पुगेका छन् । यीमध्ये धेरै मुद्दा ग्रामीण क्षेत्रका छन् भने पुरुषहरूद्वारा दर्ता गरिने मुद्दाको संख्या समेत उल्लेख्य रुपमा बढेको देखिएको छ । गत वर्ष मात्रै ६६ पुरुषले श्रीमतीविरुद्ध मुद्दा दायर गरेका थिए ।रम्भा गाउँपालिकाका एक युवकले सामाजिक सञ्जालको दुरुपयोग, अवज्ञा र झगडाका कारण श्रीमतीसँग सम्बन्धविच्छेद गरे । रामपुरका अर्का युवकले श्रीमती परपुरुषसँग लागेको भन्दै मुद्दा हालेका थिए । अधिकांश मुद्दामा पुरुषले प्रमाण नपुर्याउँदा अदालतबाट फैसला हुन नसकेको तहसिलदार रामप्रसाद पोखरेल बताउँछन् ।

अदालतका स्रेस्तेदार केशव पराजुली भन्छन्, अहिले सम्बन्धविच्छेद फेसनजस्तै बनेको छ । पतिपत्नीबीच प्रतिस्पर्धा नै देखिन्छ । सामाजिक सञ्जाल, परदेशी श्रीमान् र अपूर्ण समझदारीको असरले वैवाहिक सम्बन्ध छिट्टै चुँडिन्छ । अधिवक्ता शिवप्रसाद देवकोटा अनुसार वैदेशिक रोजगारी मुख्य कारण बनेको छ । लामो समयको टाढोपन, कम उमेरको विवाह, सामाजिक संरचनाको दबाब र सामाजिक सञ्जालका गलत प्रयोगले पनि सम्बन्ध विच्छेदको बाटो खोलिदिएको छ ।सम्बन्धविच्छेदको असर सन्तानमा पनि गहिरो पार्न सक्छ । महिला अधिकारकर्मी गङ्गा पौडेल भन्छिन्, दुई बुबाआमाबीचको कलहबाट मुक्त भएपछि केही सन्तानमा सकारात्मक असर पनि देखिन्छ, तर दीर्घकालीन असर भने मनोवैज्ञानिक रूपमा चुनौतीपूर्ण हुन्छ ।

सामाजिक चेतना, जिम्मेवार सम्बन्ध र परामर्शमार्फत यो समस्याको समाधान खोजिनु आवश्यक छ । नत्र, सम्बन्धविच्छेदको यो लहरले समाजमा गम्भीर सामाजिक असन्तुलन ल्याउन सक्छ ।