काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

साउन १५ को मिठो संस्कार : खीर खाएर मनाइँदै ।

2.03K
shares

काठमाडौं, साउन १५ – आजको दिन नेपाली समाजमा विशेष महत्वका साथ खीर खाएर मनाइँदै छ। वर्षा ऋतुको यो मौसममा, विशेषतः असार १५ मा दही–च्यूरा र साउन १५ मा खीर खाने प्रथा नेपाली संस्कृतिमा पुरानै हो।

साउन महिनाको मध्य बिन्दुमा पर्ने यो दिन, गाउँघरमा खेतीपातीको चटारो कम हुने, हरियाली प्रशस्त हुने र गाई–भैँसीले प्रशस्त दूध दिने समयसँग पनि जोडिएको पाइन्छ। यही मौकामा आफ्ना आफन्त, इष्टमित्र र चेलीबेटीलाई बोलाएर घरमै खीर खुवाउने चलन परम्पराको रूपमा बसेको छ। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार संस्कृतमा ‘पायस’ भनिने खीर सात्विक आहार मानिन्छ। त्यसैले पितृ तथा देवकार्यमा पनि यसलाई महत्त्वका साथ प्रयोग गरिन्छ। यद्यपि, साउन १५ मा खीर खानुपर्छ भन्ने कुनै शास्त्रीय आज्ञा नभएको उनी बताउँछन्। तर, ऋषिमुनिको पालादेखि नै पायस (खीर) श्राद्धमा निमन्त्रित व्यक्तिलाई खुवाउने प्रथा रहेको उल्लेख गर्छन्।

साउन महिना भगवान शिवको प्रिय महिना मानिन्छ। शिवलाई दूध तथा दूधजन्य परिकार मनपर्ने विश्वासले गर्दा पनि यस महिनामा खीर पकाएर चढाउने परम्परा चलेको हुनसक्ने उनको भनाइ छ।खीर बनाउन चामल, मकै, सेवई, गाजर, सावधाना (साबुदाना) जस्ता सामग्रीको प्रयोग गरिन्छ। यो स्वादिष्ट, पोषिलो र स्वास्थ्यवर्द्धक परिकार भएकाले हरेक वर्गले यसलाई रुचाउने गर्छ। विशेषतः साउन महिनामा उपलब्ध हुने हरियो मकैबाट बनाइने खीर त झन् लोकप्रीय बन्दै गएको छ।

नेपाली बृहत् शब्दकोशमा खीरलाई “दूधमा चामल, चिनी, मसला आदि हालेर पकाइएको स्वादिष्ट खाद्यपदार्थ” भनेर परिभाषित गरिएको छ।नेपाली लोकपरम्परा अनुसार वर्षभरिका विशेष दिनमा परिकार बनाउने चलन छ—असार १५ मा दही च्यूरा, साउन १५ मा खीर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउ खट्टे, र माघ १५ मा मालपुवा। यी सबै परम्परागत मौलिक संस्कृति, स्वाद र आत्मीयतासँग जोडिएका छन्। यसै सन्दर्भमा, राष्ट्रिय दुग्ध विकास बोर्डले हरेक वर्ष साउन १५ लाई “खीर दिवस” का रूपमा मनाउँदै आएको छ, जसले परम्परागत संस्कारको जगेर्ना मात्र नभई दूधजन्य उत्पादनको प्रवर्द्धनमा पनि भूमिका खेल्दै आएको छ।