नागको पूजाआराधनासहित आज देशभर श्रद्धाका साथ नागपञ्चमी पर्व मनाइँदै ।
वि.सं.२०८२ साउन १३ मंगलवार ०९:४७
shares
काठमाडौँ, १३ साउन । सनातन वैदिक परम्पराअनुसार आज देशभर नागदेवताको पूजाआराधना गरी नागपञ्चमी पर्व श्रद्धापूर्वक मनाइँदैछ। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा नागको तस्बिर घरको मूल ढोकामा टाँस्ने चलन रहिआएको छ।धार्मिक मान्यताअनुसार, घरमा नागको तस्बिर टाँस्दा वर्षभर सर्प, बिच्छी, मेघ, चट्याङ वा अग्निको भयबाट रक्षा हुने विश्वास गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराई का अनुसार वैदिककालदेखि नागपूजाको परम्परा चलिआएको हो। “नाग रिसाउँदा वर्षा नहुने भन्ने धारणा भएकाले पनि वर्षा र सन्तुलनको प्रतीकको रूपमा नागलाई पूजा गर्ने चलन बसेको हो,” उनले बताए।
पौराणिक ग्रन्थ अनुसार, नागराजसँग ब्रह्माको संवाद भएको विशेष दिनका रूपमा पनि आजको पञ्चमीलाई मानिन्छ। नाग पञ्चमीसँग सम्बन्धित लोककथा अनुसार, एकपटक एक किसानले खेत खन्दै गर्दा नागका तीन बच्चा मारे। क्रुद्ध नागिनीले बदला स्वरूप किसान, उनकी श्रीमती र छोरालाई पनि सर्पदंश गरिन्। तर बाहिर भएकी छोरीले पूजा गरेर नागिनीलाई खुसी पारिन् र परिवारको ज्यान बचाइन्। त्यो दिन नै आजको पञ्चमी भएकाले यो दिन पूजाआराधनाको परम्परा सुरु भएको विश्वास गरिन्छ।
वैदिक मान्यताअनुसार नाग विष्णु, शिव, गणेश, बलराम, लक्ष्मणलगायत देवी–देवतासँग जोडिएका छन्। भगवान् शिवले गळामा नाग धारणा गर्नुहुन्छ भने विष्णु शेषनागमाथि शयन गर्नुहुन्छ। गणेशको हातमा पनि नाग हुन्छ। यसैकारण नाग पूजालाई देवपूजासँग समेत जोडिएको छ।
आजको दिन आठ कूलका प्रमुख नाग–अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कोट र शङ्ख लाई पूजाआजा गरिन्छ। तिनीहरूको तस्बिर ब्राह्मण पुरोहितबाट पूजा गरेर घरको मूलढोकामा टाँस्ने चलन छ।आजको दिन खेत–बारीमा खनजोत नगर्ने, सर्पलगायत जनावरलाई मार्न नहुने र घरमा गाईको दूध, दुबो, अक्षता, खीर, रोटी आदि चढाएर पूजा गर्ने परम्परा छ। काठमाडाैँको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरी, नागदह र कुण्डहरूमा विशेष पूजाआजा, भजन, दुग्धाभिषेक र प्रसाद वितरण हुँदैछ।
धर्मशास्त्रसँगै वैज्ञानिक पक्ष पनि जोडिएको छ। अनुसन्धान अनुसार, नाग जातिका जीवहरूले प्रकृतिमा फैलिएका विषालु पदार्थलाई सोस्ने कार्य गर्दछन्, जसले वातावरणमा सन्तुलन कायम राख्छ। नागपञ्चमीसँगै वैदिक सनातन धर्ममा चाडपर्वको औपचारिक सुरुवात पनि हुने मानिन्छ।

















