शशी कार्कीले एनआरएनए यूकेको उपाध्यक्षमा उम्मेदवारी घोषणा, अनुभव र एजेण्डासहित चुनावी मैदानमा
वि.सं.२०८२ साउन ३ शनिवार १७:२८
shares
काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको स्कट्ल्याण्ड क्षेत्रका तर्फबाट शशी कार्कीले आगामी निर्वाचनमा उपाध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन्। बेलायतमा लामो समयदेखि सक्रिय रहँदै आएका कार्की सामाजिक सेवा, संस्थागत स्थायित्व, नेपाली चासो र प्रवासको सरोकारमा निरन्तर क्रियाशील व्यक्ति मानिन्छन्। बेलायतमा स्थायी बसोबास गर्दै आएका कार्कीले स्वदेशप्रतिको माया र प्रतिबद्धता कहिल्यै कमजोर हुन नदिएको उल्लेख गर्दै, आफ्नो उम्मेदवारी केवल पदको लागि नभएर एक सशक्त र मर्यादित एनआरएनए निर्माणको लागि भएको बताए। उनले भने, एनआरएनए केवल एउटा संस्था होइन, यो विदेशमा रहेका नेपालीहरुको भावनाको प्रतीक हो यसलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउनु आजको आवश्यकता हो।
शशी कार्कीका मुख्य चुनावी एजेण्डा:
-
एनआरएनए एकता र सुदृढिकरण: विभाजित हैसियतमा रहेका एनआरएनए संरचनालाई एकीकृत गर्दै सबै नेपालीलाई समेट्ने साझा मञ्च निर्माण गर्ने प्रतिबद्धता।
-
नेपाली नागरिकताको निरन्तरता: दोहोरो नागरिकताको संवैधानिक सुनिश्चितता र विदेशस्थित नेपाली सम्पत्तिको संरक्षणका लागि दबाबमूलक भूमिका।
-
भूतपूर्व गोर्खा सैनिकहरूप्रति ऐक्यवद्धता: गोर्खा आन्दोलन र अधिकार प्राप्तिका पक्षमा ठोस ऐक्यवद्धता जनाउने।
-
प्रवासी युवाहरुको सहभागिता: नयाँ पुस्तालाई नेतृत्व तहमा ल्याउने, उनीहरुको सशक्त सहभागिता सुनिश्चित गर्ने।
-
विद्यार्थी र श्रमिक अधिकार संरक्षण: बेलायतमा रहेका नेपाली विद्यार्थी तथा श्रमिकहरूका समस्याहरूलाई प्राथमिकतामा राख्ने।
-
अनुभव र योगदान : शशी कार्की अहिले एनआरएनए यूकेको केन्द्रीय सदस्यको हैसियतमा रहेका छन्। यसअघि पनि उनले यही संगठनमार्फत बेलायतस्थित नेपाली समुदायलाई सहकार्य र उत्साहका माध्यमबाट जोड्ने प्रयास गरेका थिए। उनले आफूले विगतमा थालनी गरेका केही अधुरा कार्यलाई निरन्तरता दिने दृढ इच्छाका साथ उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन्। उनले भने, एनआरएनएलाई एक मर्यादित सामाजिक संस्था बनाउने सपना बोकेर अघि बढेको छु। यस संस्थाले प्रवासमा रहेका नेपालीहरूलाई नजिक ल्याउन, समस्या समाधान गर्न र नेपालप्रति उत्तरदायी भूमिका खेल्न सक्नुपर्छ।
सशक्त नेतृत्वको लागि एक विकल्प : शशी कार्कीको उम्मेदवारीलाई एनआरएनए यूकेको आगामी नेतृत्वका लागि अनुभव, दृष्टिकोण र दूरदर्शितासहितको विकल्पका रूपमा हेरिएको छ। आगामी हप्ता सम्पन्न हुने निर्वाचनमा उनीसँग प्रतिस्पर्धामा उत्रिने अन्य उम्मेदवारहरू पनि क्रमशः प्रचारप्रसारमा लागिरहेका छन्। कार्कीले अन्त्यमा भने, यो केवल व्यक्तिगत निर्वाचन होइन, यो प्रवासी नेपालीको भावी संरचना निर्माणको मोर्चा हो। म सबैको साथ र सुझावको अपेक्षा गर्छु।












