काठमाडौँ, । आज विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष नोभेम्बर २१...

पुरा पढ्नुहाेस्

Park Safari Resort

छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदै, दिनभर निराहार व्रत बसेर खीर खाने परम्परा

साँझ चन्द्रदर्शनपछि सख्खरको खीर प्रसादका रूपमा ग्रहण गरिने, भोलि अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने

1.33K
shares

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा छठ पर्वको उल्लास छाएको छ । चार दिनसम्म मनाइने लोकआस्थाको महापर्व छठको दोस्रो दिन आज शनिबार बर्तालुले श्रद्धा र भक्तिपूर्वक ‘खरना’ विधि गर्दैछन् ।

यसअघि पर्वको पहिलो दिन शुक्रबार कात्तिक शुक्ल चौथीका दिन बर्तालुले पवित्र स्नान गरी व्रत सङ्कल्पसहित ‘नहाय–खाय’ विधि सम्पन्न गरेका थिए । आज दोस्रो दिन अर्थात् कात्तिक शुक्ल पञ्चमीका दिन बिहानै पवित्र स्नान गरी दिनभर निराहार उपवास बस्ने परम्परा छ ।

खरना विधिअन्तर्गत बर्तालुले साँझ सूर्यास्तपछि चन्द्रदर्शन गरेर कुलदेवता र छठी माताको पूजा गर्छन् । त्यसपछि सख्खर, दूध र स्थानीय जातको धानको चामलबाट तयार पारिएको खीर केराको पातमा राखेर छठी मातालाई चढाइन्छ । पूजापछि उक्त खीर प्रसादका रूपमा बर्तालु तथा परिवारका अन्य सदस्यले ग्रहण गर्ने गर्छन् । मैथिली भाषामा यस विधिलाई ‘खरना’ भनिन्छ ।

छठलाई मिथिलामा लोकआस्थाको महापर्वका रूपमा लिइन्छ । श्रद्धा, निष्ठा, समर्पण र आत्मशुद्धिलाई यस पर्वका मुख्य पक्ष मानिन्छन् । खरनाका दिन नयाँ माटोको चुलो र माटाकै भाँडामा प्रसाद तयार पार्ने परम्परा छ । दिनभर उपवास बसेर साँझ चन्द्रदर्शनपछि खरना विधि सम्पन्न गरिन्छ ।

पर्वको तेस्रो दिन अर्थात् कात्तिक शुक्ल षष्ठीका दिन बर्तालुले निराहार व्रत बसेर साँझ जलाशयमा बनाइएका आकर्षक घाटमा पुग्नेछन् । कम्मरसम्म पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गर्ने परम्परा छ । मिथिलामा यस विधिलाई ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ ।

त्यसैगरी, पर्वको अन्तिम दिन सप्तमीका बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ । उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई मिथिलामा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ । अर्घ्य अर्पण गर्दा जटासहितको नरिवल, ठकुवा, भुसुवालगायत मिष्टान्न परिकार तथा केरासहितका फलफूल सूर्यदेवलाई चढाउने चलन छ ।

छठ पर्वका अवसरमा ठकुवा, भुसुवालगायत विभिन्न परिकार घरमै शुद्धतापूर्वक तयार पारिन्छन् । यस्ता परिकार ढिकी–जाँतोमा कुटिएको तथा पिसिएको पिठोबाट बनाउने परम्परा छ । पर्वका प्रसाद इष्टमित्रलाई घरमै बोलाएर खुवाउने र आफन्त तथा नातेदारका घरमा पुर्‍याउने चलनसमेत रहेको छ । अर्घ्य अर्पणका लागि नदी, पोखरी तथा अन्य पवित्र जलाशयका किनारमा आकर्षक घाट निर्माण गरिन्छ ।

केही वर्षअघिसम्म मुख्यतः मधेसी हिन्दू समुदायमा सीमित रहेको छठ पर्व पछिल्लो समय पहाडी समुदायका हिन्दू धर्मावलम्बीले पनि उत्साहपूर्वक मनाउन थालेका छन् । मिथिला क्षेत्रमा इस्लाम धर्मावलम्बीले समेत बर्तालुमार्फत आफ्नो भाकल सूर्यदेवसमक्ष पुर्‍याउन अर्घ्यका सामग्री दिने गरेका छन् ।

विभिन्न धर्म, संस्कृति र जातजातिका समुदायको सहभागिता बढ्दै जाँदा छठ पर्व सामाजिक सद्भाव र सांस्कृतिक एकताको प्रतीकका रूपमा समेत स्थापित हुँदै गएको छ । यही साझा सहभागिता र लोकआस्थाका कारण छठ मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको भङ्गाहा–५, सीतापुरस्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोहरप्रसाद यादव बताउँछन् ।