लेबनान, इजरायल र अमेरिकाबीच त्रिपक्षीय शान्ति सम्झौतामा हस्ताक्षर
हेजबुल्लाहलाई निशस्त्र पार्ने प्रक्रिया अघि बढाउने सहमति; लेबनानी सेनाले विवादित क्षेत्रको सुरक्षा जिम्मेवारी सम्हाल्ने
वि.सं.२०८३ असार १३ शनिवार १७:२४
shares

वासिङ्टन। लेबनान, इजरायल र संयुक्त राज्य अमेरिकाले मध्यपूर्वमा दीर्घकालीन शान्ति स्थापना गर्ने उद्देश्यले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौताले दुई दशकदेखि तनावग्रस्त लेबनान–इजरायल सम्बन्धलाई नयाँ दिशातर्फ लैजाने विश्वास गरिएको छ।
अमेरिकामा सम्पन्न पाँचौँ चरणको वार्तापछि भएको सम्झौताअनुसार लेबनानी सेनाले इजरायलको नियन्त्रणमा रहेका दुई क्षेत्रको सुरक्षा जिम्मेवारी ग्रहण गर्ने प्रक्रिया अघि बढाइनेछ। साथै, हेजबुल्लाहलाई क्रमिक रूपमा निशस्त्र बनाउने स्पष्ट कार्ययोजना पनि सम्झौतामा समावेश गरिएको छ।
हस्ताक्षर समारोहमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सम्झौताले मध्यपूर्वमा स्थायी शान्ति र सुरक्षाका लागि आवश्यक आधार तयार गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार सम्झौताले हेजबुल्लाहलाई निशस्त्र बनाउने स्पष्ट तथा संरचित प्रक्रिया तय गरेको छ। साथै, कार्यान्वयनका लागि अमेरिकी सहजीकरणमा संयुक्त सैन्य कार्यसमूह गठन गरिने र संयुक्त राष्ट्रसंघसँगको समन्वयमा मानवीय सहायता स्वरूप १० करोड अमेरिकी डलर उपलब्ध गराइनेछ।
वासिङ्टनका लागि लेबनानका राजदूत नाडा हमादेह मोवादले सम्झौताले लेबनानको सार्वभौमिकता र क्षेत्रीय अखण्डता पुनःस्थापित गर्ने, शत्रुताको अन्त्य गर्ने तथा विस्थापित नागरिकलाई आफ्नै भूमिमा सुरक्षित रूपमा फर्किने वातावरण बनाउने पहिलो महत्वपूर्ण कदम भएको बताए।
सन् २०२५ मार्च २ मा हेजबुल्लाह युद्धमा सहभागी भएपछि क्षेत्रीय तनाव चुलिएको थियो। त्यसपछि अमेरिका–इजरायल आक्रमणमा इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको हत्या भएको भन्दै इरानले इजरायलमाथि रकेट आक्रमण गरेको थियो। त्यसको जवाफमा इजरायलले दक्षिणी लेबनानमा सैन्य कारबाही तीव्र बनाउँदै केही भूभागमा नियन्त्रण कायम राखेको थियो।
सम्झौतामा इजरायल र लेबनानले द्वन्द्वलाई औपचारिक रूपमा अन्त्य गर्ने तथा त्यसका मूल कारण सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्। सम्झौताअनुसार लेबनानी सशस्त्र बल (एलएएफ) ले लिटानी नदीको दक्षिण र उत्तरका निर्धारित क्षेत्रमा पूर्ण सुरक्षा जिम्मेवारी सम्हाल्नेछ। त्यससँगै अन्तर्राष्ट्रिय सहयोगमा पुनर्निर्माण अभियान सुरु गरिने र स्थानीय नागरिकलाई सुरक्षित रूपमा घर फर्काउने व्यवस्था मिलाइने उल्लेख छ।
यद्यपि, हेजबुल्लाह र इजरायलबीच मतभेद भने अझै कायम रहेको देखिएको छ। हेजबुल्लाहका प्रमुख नईम कासिमले इजरायली सेना लेबनानी भूमिबाट बिना शर्त पूर्ण रूपमा फिर्ता हुनुपर्ने अडान दोहोर्याएका छन्।
उता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हेजबुल्लाहले आफ्ना हतियार नत्यागेसम्म इजरायली सेना लेबनानबाट फिर्ता हुने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। उनले सम्झौताअघि नै लेबनानी सेनालाई लिटानी नदी आसपासका क्षेत्रमा सुरक्षा नियन्त्रण लिन अनुमति दिइने बताएका थिए।
संयुक्त राष्ट्रसंघका मानवीय मामिला प्रमुख टम फ्लेचरले सम्झौताको स्वागत गर्दै यसलाई आशा र अवसरको महत्वपूर्ण क्षण को संज्ञा दिएका छन्।यसअघि अमेरिकी पहलमा अप्रिल महिनादेखि लेबनान र इजरायलबीच वासिङ्टनमा प्रत्यक्ष वार्ता सुरु भएको थियो भने अप्रिल १७ मा युद्धविराम घोषणा गरिएको थियो। त्यसपछि तेहरानको आग्रहमा लेबनानलाई पनि औपचारिक शान्ति प्रक्रियामा समेट्दै यस महिनाको सुरुआतमा नयाँ युद्धविराम घोषणा गरिएको थियो।
लेबनानी अधिकारीहरूका अनुसार लामो समयदेखि जारी द्वन्द्वका कारण १० लाखभन्दा बढी नागरिक विस्थापित भएका छन् भने चार हजार २०० भन्दा बढीले ज्यान गुमाएका छन्।
















