कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदान केन्द्रमा प्रतिनिधिको लाइन, आजै मतगणना गर्ने तयारी
७ हजार ३१७ प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्दै, बिहान ७ देखि दिउँसो ३ बजेसम्म मतदान हुने
वि.सं.२०८३ असोज २३ शुक्रवार ०७:४६
shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रबार बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरू मतदान केन्द्रमा लाइनमा लागेका छन्। मतदान बिहान ७ बजेदेखि सुरु हुने भए पनि प्रतिनिधिहरू बिहानैदेखि लाइनमा बसेका हुन्।
बिहीबार मतदान गर्न नपाएका प्रतिनिधिहरू शुक्रबार मतदानका लागि उत्साहित देखिएका छन्। टाढा घर भएका प्रतिनिधिहरू मतदान गरेर दसैँ मनाउन घर फर्किने तयारीमा छन्। मतदानको नयाँ तालिकाले महाधिवेशन प्रतिनिधिमा पुनः उत्साह थपेको छ।
खराब मौसम, प्राविधिक समस्या र ढिलो मतदान सुरु गर्दा रातिको समयमा प्रतिनिधिहरूलाई कठिनाइ हुने अवस्थालाई ध्यानमा राख्दै मतदान शुक्रबार बिहानका लागि सारिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए।
उनका अनुसार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि कुल ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतदानका लागि आवश्यक तयारी पूरा भएको बताए। साँझ मतदान सुरु गर्दा रातभर प्रतिनिधिहरूलाई असहज हुने भएकाले बिहानैदेखि मतदान गराउने निर्णय गरिएको उनको भनाइ छ।
मतपत्रको सङ्ख्या धेरै भएकाले ३२ जना वरिष्ठ अधिवक्ताले मतपत्रमा हस्ताक्षर गरिरहेको खड्काले जानकारी दिए। उम्मेदवार र मतदाताको सङ्ख्या धेरै भएका कारण मतपत्र छपाइमा ढिलाइ भएको उनले बताए।
आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले महाधिवेशन एक दिन लम्बिएकाले शुक्रबारको होटल बसाइ र खानाको खर्च पार्टीले नै बेहोर्ने बताए।
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको सहजताका लागि प्रदेश तथा समूहअनुसार विभिन्न मतदान केन्द्र तोकेको छ। प्रतिनिधिहरूले आफूलाई तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ।
- राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’ : बागमती प्रदेश
- खुलामञ्च, मतदान केन्द्र ‘ख’ : कोशी प्रदेश तथा तराई–मधेस समूह
- हिमाल हल : गण्डकी प्रदेश
- तराई–मधेस हल : मधेश प्रदेश
- पहाड हल : लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधि
निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा जान आग्रह गरेको छ।मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्रै मतदान गर्न पाइने व्यवस्था गरिएको छ।निर्वाचन समितिका अनुसार मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न पाइने छैन। प्रतिनिधिहरूले समितिले तोकेको प्रक्रिया पूरा गरेर मात्रै मतदान गर्न पाउनेछन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ। निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ।मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। महाधिवेशन प्रतिनिधिहरूले सम्बन्धित पदका लागि तोकिएका मतपत्रमा मतदान गर्नेछन्।
निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतगणना सुरु गर्ने जनाएको छ। मतदान सकिएपछि मतपेटिकाको सुरक्षित व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना अघि बढाइनेछ।मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ। त्यससँगै कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ।महाधिवेशनबाट नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाइएको विवरणसमेत सार्वजनिक भएको छ। नयाँ संरचनाअनुसार निर्वाचित हुने पदाधिकारी तथा केन्द्रीय सदस्यले आगामी कार्यकालका लागि पार्टीको नेतृत्व सम्हाल्नेछन्।
सभापतिसहित प्रमुख पदमा प्रतिस्पर्धा रहेकाले शुक्रबारको मतदानलाई कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महत्त्वपूर्ण मानिएको छ। प्रतिनिधिहरूको मतदानपछि आउने परिणामले पार्टीको आगामी राजनीतिक दिशा र सङ्गठनात्मक नेतृत्वसमेत तय गर्नेछ।
















